प्रस, सप्तरी, २८ भदौ/
सप्तरी र सिराहा जोड्ने गरी बलान खोलामा पुल निर्माण शुरू भएको छ। सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दुधैला घाट र सिराहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुङ्गे पुल बन्न लागेको हो।
नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा तीन करोड रुपैयाँको लागतमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाको कार्यालयले जनाएको छ। वर्षाको बेला बलान खोलामा बाढी आउँदा सप्तरी र सिराहाको सीमा क्षेत्रका बासिन्दाबीच आवतजावत ठप्प हुने गरेको छ। झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन्।
कोभिड–१९ को महामारीका कारण बन्दाबन्दी र निषेधाज्ञाले गर्दा निर्माणस्थल पूर्णरूपमा बन्द गर्नुपरेकोले काम शुरू गर्न केही विलम्ब भएको गाउँपालिकाको भनाइ छ। जुनसुकै अवस्थामा पनि अब काम नरोक्ने गरी आइतवार बिहान गापा अध्यक्ष बेचन यादवलगायतका जनप्रतिनिधिको टोलीले निर्माणस्थलको स्थलगत निरीक्षण गरेका थिए। यही बिहीवारदेखि निर्माण कार्यलाई तीव्रता दिने भगवानपुर गाउँपालिकाका अध्यक्ष यादवले बताएका छन्। उनले कामदारको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर नै योजना सञ्चालन हुने बताएका छन्।