सर्लाही र रौतहटलाई मध्यबाट जोड्ने सडकको निर्माण शुरू

प्रस, गरुडा, २७ भदौ/
    रौतहट र सर्लाहीलाई जोड्ने वैकल्पिक बाटोको निर्माण शुरू गरिएको छ। रौतहटको गढीमाई नगरपालिकाको पहलमा सर्लाहीको धनकौल गाउँपालिका र रौतहटको गढीमाई नगरपालिकाबीच वैकल्पिक बाटोको निर्माण शुरू भएको हो।
    पुल निर्माण सम्पन्न भएको करीब एक वर्ष बितिसकेको भएपनि सडकको अभावमा सञ्चालन हुन नसकेको अवस्थामा गढीमाई नगरपालिकाले सर्लाहीतिरबाट जोड्ने सडकको निर्माण थालेको हो। बागमती नदीभन्दा पूर्व सर्लाही जिल्ला रहेको भएपनि बागमती नदीमा पुल निर्माण भएको ठाउँदेखि रौतहटको जमीन भएकोले गढीमाई नगरपालिकाले नै पुलभन्दा पूर्व पनि सडकको निर्माण शुरू गरेको हो।
    रौतहटतिरबाट पुलसम्म जाने सडकको निर्माण नपाले गत वर्ष नै सम्पन्न गरिसकेको थियो तर पूर्वतिर बाटोको अभावमा वर्षात्को समयमा साइकल र मोटरसाइकल आवतजावत गर्न पनि निकै कठिन भइरहेको थियो। हिउँदमा भने बडा मुस्किलले जीप, कारजस्ता साना सवारीसाधन आवतजावत गरिरहेका थिए। सङ्घ तथा प्रदेश सरकारले पुलपारि बाटो निर्माण गर्ने कुनै तरखर नगरेपछि नगरपालिकाले पहल गरेको नगरप्रमुख श्यामप्रसाद यादवले बताएका छन्।
    बागमती नदीको पूर्वतिर धनकौल गाउँपालिकाको महिनाथपुर र पश्चिमतिर गढीमाई नगरपालिकाको धर्मपुर रहेका छन्।
    उत्तरमा महेन्द्र राजमार्गको बागमती पुल र दक्षिणमा भारतको बैरगनियामा रहेको पुलको बीचमा गढीमाई–धनकौल पुलको निर्माण सम्पन्न भएको हो। धर्मपुर–महिनाथपुरको बीचमा निर्माण भइसकेको पुललाई पूर्ण सञ्चालनमा ल्याउन गढीमाई नगरपालिकाले असी फिट चौडाइ भएको साढे पाँच फिट अग्लो करीब चार किलोमिटर सडक निर्माण थालेको हो। छवटा डोजरले एक साथ काम गरिरहेको सडक निर्माणमा करीब एक हप्ता लाग्ने देखिएको नगरप्रमुख यादवको भनाइ छ।
    सडक निर्माणमा सर्लाहीको धनकौल गाविससित पनि समन्वय गरिएको छ। सडकको केही भाग धनकौल गाविसले निर्माण गर्ने सहमति भएको छ। गढीमाई नगरपालिकाले निर्माण गर्ने भनिएको ठाउँबाट काम थालिसकेको नगरप्रमुख यादवको भनाइ छ।
    सडक निर्माणमा करीब एक करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको गढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले बताएका छन्।
    सडक निर्माण भएपछि सर्लाही र रौतहटका लाखौंलाई आवतजावत गर्न सजिलो हुने बताइएको छ। सडक निर्माण शुरू भएसँगै धर्मपुरवासी खुशी देखिएका छन्। अब हामीहरूको भाग्य चम्किने भयो भन्दै स्थानीय सुरेन्द्र यादवले खुशी व्यक्त गरेका छन्।
    बागमती नदीमा सर्लाही र रौतहटलाई जोड्ने समनपुर–बरहथवा र पिपरा–रामनगर गरी दुई ठाउँमा पुलको काम भइरहेको छ। आगामी वर्षसम्म दुवै पुलको निर्माण भइसक्ने सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here