मौसमको प्रतिकूलताले धानबाली भित्र्याउन समस्या

प्रस, सेढवा, २७ भदौ/
    मौसमको प्रतिकूलताले पर्साको थरुहट क्ष्Fेत्रका किसानहरूलाई धानबाली भित्र्याउन समस्या भएको छ।  जीराभवानी, ठोरी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिकाका किसानहरूले रोपेका हर्दिनाथ, भदैया मन्सुरी र सानो सारो जातका धान अहिले भित्र्याउने अवस्थाका छन् तर दिनहुँ पर्ने पानीले धानबाली किसानले भित्र्याउन सकेका छैनन्।
    ठोरी गापा–४ विजयबस्तीका खड्गबहादुर श्रेष्ठले दिनहुँ पानी पर्ने गरेकोले धानबाली भित्र्याउन नसकेको बताए। उनले पानी रोकिएको अवस्थामा छिटपुटरूपमा धानबाली भित्र्याइरहेको बताएका छन्। उनले हार्भेस्टर, कम्पाइन मेशिनबाट काटिएको धान कम्तीमा तीन–चार दिन चर्को घाममा सुकाउनुपर्ने हुन्छ तर घाम नलाग्दा सुकाउन नसकेर ढुसी लाग्ने, कुहिने जस्ता समस्या भएको उनले बताए।
    ठोरी गापामा भदैया मन्सुली र हर्दिनाथ धानको खेती भएको छ। विजयबस्ती, सुवर्णपुर, शान्तिनगर, काठमाडौंटोल, हरैया, सखुवनिया, शङ्करसरैयामा अहिले धानबाली कटानीको लागि दुई दर्जनभन्दा बढी कम्पाइन हार्भेस्टर मेशिन तयारी अवस्थामा राखिएको छ।
    जीराभवानी गापा–५ सखुवनियाका किसान मुक्तिनारायण दासले नियमितरूपमा पानी पर्दा खेतमा हिलो भएको कारण हार्भेस्टरको प्रयोगमा कठिनाइ भएको बताए। उनले पाकेको धान हावाहुरी, पानीले भित्र्याउन समस्या भइरहेको र बिग्रिने डर बढेको बताए।
    जीराभवानी गापा–२ सेढवाका किसान रामजनम दासले एक साताअगाडि आएको हावाहुरीसँगै परेको पानीले खेतमा धानको बाला ढलेको र  दाना उम्रन थालेको बताए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्