प्रस, रौतहट, २७ भदौ/
रौतहटमा हालै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले शनिवार राजनीतिक दलका प्रतिनिधिहरूसँग अन्तत्र्रिmया गरेका छन्।
रौतहट जिल्लामा हत्याको घटना बढ्दै गएपछि सरुवा भई आएका प्रहरी उपरीक्षक शाहले शान्ति सुरक्षा कायम गर्न राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।
साउन ३१ गते निरञ्जन रामको घाँटी रेटी हत्या भएको, भदौ ३ गते हनुमान मन्दिरका पुजारी श्रीराम साह तेलीको हत्या र विजय राम महरा प्रहरी हिरासतमा यातना पाएपछि उपचारको क्रममा भदौ १० गते मृत्यु भएको कारण जिल्लाको शान्ति सुरक्षाको स्थिति संवेदनशील भएपछि राजनीतिक दलबाट सुझाव लिन अन्तत्र्रिmया कार्यक्रम गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न र त्यस कार्यमा रचनात्मक सहयोग हुने छलफलमा सहभागी राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्।
छलफलमा प्रउ शाहले विजय रामको मृत्यु सम्बन्धमा अनुसन्धान भइरहेको र सो क्रममा तीनजना प्रहरी निलम्बनमा परेको जानकारी गराए। उनले कोरोना महामारीको समयमा जिल्ला प्रशासन कार्यालयमा सयौंको सङ्ख्यामा मानिसहरू भेला भई प्रदर्शन गर्दा महामारी फैलिन सक्ने भएकोले यस्तो कार्य नगर्न निरञ्जन राम र विजय राम हत्याबारे आन्दोलन गरिरहेका सङ्घर्ष समितिलाई अनुरोध गरे। उनले यस घटनामा जिल्ला प्रशासन कार्यालय रौतहटमा सर्वपक्षीय सर्वदलीय वार्ता गर्न अनुरोध गरेका थिए।