प्रस, सिराहा, २७ भदौ/
सिराहामा शनिवार राति १२ बजे सकिन लागेको निषेधाज्ञा पुनः थप गरेर असोज १० गतेसम्म पु–याइएको छ। निषेधाज्ञाको समयावधि पुनः बढाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले आज जानकारी गराएका छन्।
गत साउन ३२ गतेदेखि लगाइएको निषेधाज्ञा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले पुनः थप गरिएको हो। निषेधाज्ञा अवधिमा हाटबजार, सभा सम्मेलन, तालीम, गोष्ठी, सैलुन, ब्यूटिपार्लर, जिमखाना, जात्रा तथा प्रदर्शन र महोत्सवहरूमा रोक लगाइएको जिप्रका सिराहाले जनाएको छ। यस अवधिमा जिल्लास्थित मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजा, आराधनाबाहेकका सबै गतिविधिमा कडाइका साथ रोक लगाइएको छ। अति आवश्यक कामका लागि निस्कँदा अनिवार्यरूपमा मास्क प्रयोग, भौतिक दूरीलगायतका निर्धारित स्वास्थ्य मापदण्ड अपनाउन प्रजिअ कँडेलले आग्रह गरेका छन्।
जिल्लामा औषधिपसललाई नियमित सञ्चालन गर्न अनुमति दिइएको छ भने खाद्यान्य, दूध, फलफूल, तरकारी, ग्यास, माछा, मासु वा अन्डाका पसलहरू बिहान ५ देखि अपराह्न ३ बजेसम्म र अन्य सामानका पसलहरू बिहान ८ देखि अपराह्न ३ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ।