कल्याण दहमा पुल बनेपछि स्थानीय खुशी

प्रस, सिराहा, २७ भदौ/
    सिराहा जिल्लाको विकट स्थान  सखुवानन्कारकटि गाउँपालिकाको वडा नं. १ स्थित कल्याण दहमा पुल निर्माण भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्।
    बितेको फागुनमा सम्पन्न हुनुपर्ने पुल बन्दाबन्दीको कारण निर्माण हुन चार महीना विलम्ब भएर भदौ पहिलो साता सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।
    चार करोड ९२ लाख रुपैयाँको लागतमा बाम्ती/अजय जेभी निर्माण कम्पनी लहान–६ ले पुल निर्माणको ठेक्का पाएको थियो। २५ मिटर लम्बाइ र साढे आठ मिटर चौडाइ रहेको पुल निर्माण भएपछि त्यस भेगका स्थानीयहरूलाई आवतजावतमा धेरै सहज भएको छ।
    उक्त पुल नहुँदा खोलावारिपारि एक किलोमिटरको दूरीमा पुग्न १८ किलोमिटर घुमेर जानुपर्ने बाध्यता थियो। अब त्यो बाध्यता सकिएको  मैवाही–१ निवासी गेनालाल यादवले प्रतीकलाई बताए।
    यसअघि पुल निर्माणको आस गर्दागर्दै कैयौं पुस्ता बितेको स्थानीय द्वारिकानाथ यादवले सुनाए। “हरेक चुनावको बेला राजनीतिक दल र उम्मेदवारहरूका लागि आकर्षक नारा ‘कल्याण दहको पुल’ हुने गरेको थियो। आस गरेर भोट हाल्थेम चुनाव जितेर गएपछि पुल निर्माण हुँदैनथियो,” उनले भने।
    यसपटक गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले यस गाउँपालिकाकै  विकट स्थान कल्याण दहमा पुल निर्माण गरेका हुन्। कल्याण दहमा पुल नहुँदा वर्षाको समयमा लहान बजारबाट  सखुवानन्कारकटि गाउँपालिका पुग्न १९ किलोमिटर घुमाउरो बाटो भएर जानुपर्दथ्यो। अब लहान र सखुवानन्कारकटिको दूरी चार किलोमिटर भएको छ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्