सम्पूर्ण विश्व आज मनोरोगहरूका भयङ्कर चपेटमा छ। मानौं मनोविकारको बाढी नै आएको छ। अपराध, हिंसा, आतङ्क, आत्महत्याको मूलमा रोगी मनले नै काम गरिरहेको हुन्छ। समाचारपत्रहरूको ऐनामा हे–यो भने पूरा मानवजाति एउटा विक्ष्Fिप्तताको युगमा बाँचिरहेको छ। आज विश्वको जनसङ्ख्याको एउटा हिस्सा कुनै न कुनै मनोरोगको चपेटमा छ। देश–विदेशमा भएका अनेकानेक अध्ययनहरूबाट के देखिन्छ भने शारीरिक बिमारीले पीडित लगभग एकतिहाई मानिस मानसिक रोगबाट पनि पीडित छन्, तर प्रायः यस्ता रोगीहरूको पहिचान हुँदैन।
    तनाव, चिन्ता, भय, बेचैनी, उद्विग्नता, निराशा, क्रोधजस्ता नकारात्मक भाव जीवनका अङ्ग बनिसकेका छन्। जब यस्ता नकारात्मक भावहरूले व्यवहारमा परिणत हुन्छन् अनि मनोविकारको रूप लिन्छन्। प्राथमिक अवस्थामा वैज्ञानिकहरू यसलाई न्युरोटिक स्तरको मान्दछन्। यसको निग्रह गर्नु रोगीका लागि सम्भव हुन्छ, तर यसमा अङ्कुश लगाउन सकिएन भने यसले गम्भीर रूप लिन्छ र साइकोटिक स्तरमा पुग्छ। यस्तोमा व्यक्तित्वको विखण्डन यस प्रकार हुन पुग्छ कि उसको स्वयंमाथि नियन्त्रण लगभग समाप्त हुन्छ र पागलखानामा भर्ती गर्नुपर्ने स्थिति सिर्जना हुन्छ।
    वस्तुतः व्यक्तित्वको विखण्डनको यो प्रक्रिया एकाएक घटित हुँदैन। सामान्य मनोविकार क्रमशः न्युरोटिक हुँदै साइकोटिक बन्न अग्रसर रहन्छ। यसै अनुरूप व्यक्तिको व्यवहार असामान्य हुँदै जान्छ र सामाजिक जीवन पङ्गु बन्छ। प्रतिभावान हुँदाहुँदै पनि व्यक्ति वातावरणसँग समायोजना गर्न अक्ष्Fम हुन्छ र आफ्नो प्रतिभा पूर्णरूपले अभिव्यक्त गर्न पाउँदैन। निश्चितरूपमा यस्तो बेला उसको पारिवारिक जीवन प्रभावित बन्न पुग्छ। यस्तो व्यक्ति निम्न आत्मसम्मान वा हीनता भावले ग्रसित हुन्छ र असामाजिक एवं आपराधिक गतिविधिहरूमा प्रायः यस्तै व्यक्ति संलिप्त भएका पाइन्छन्।
    मनोविकारको उपचारको सन्दर्भमा मनोचिकित्साको पूर्ण विधा विकसित भएको छ, तर त्यो प्रयास आफ्नो तमाम इमानदारीका बावजूद, मनको अधूरो समझदारीले गर्दा, समग्र समाधानबाट कोसौं टाढा छ। मनोविकारका कारण जैविक, वंशानुगत, पर्यावरणसँग सम्बन्धित हुन सक्छ, तर मुख्यरूपले बालपनका कटु स्मृति र अनुभव यसको मूलमा हुन्छ, जसलाई मनोचिकित्सक मनको गहिरो अचेतन तहमा खोज्दछन्।
    आधुनिक मनोविज्ञानको क्षेत्रमा सबभन्दा पहिले फ्रायडले यस तथ्यमा प्रकाश पारेका थिए, जसलाई उनको सबैभन्दा ठूलो देन मानिन्छ। यद्यपि महर्षि पतञ्जलिले यस तथ्यलाई हजारौं वर्ष पहिले अझ सूक्ष्म एवं सम्यकरूपमा चित्त एवं कर्म–संस्कारहरूको सिद्धान्तको माध्यमले प्रतिपादित गरिसकेका छन्। समग्र मानसिक उपचार गर्नका लागि यसको सही समझ हुनु अत्यन्त महत्वपूर्ण छ। मनोरोगहरूको उपचारका लागि मनको यस गहिरो तहसम्म पुग्नुपर्छ, अनि मात्र सही उपचार सम्भव हुन सक्छ।
    आधुनिक मनोविज्ञान मनको धरातलीय समझका कारण त्यसको सही उपचार गर्न असमर्थ छ। अहिले पनि त्यो फ्रायडवादी सोचको धङधङीबाट मुक्त हुन सकिएको छैन। आश्चर्यकोे कुरा छैन आजको मनचिकित्सा र जनमानसको सोच व्यापकरूपमा फ्रायडवादी सोचबाट प्रभावित छ। यस सोचले अचेतन मनलाई पशुवृत्तिको अँध्यारो कुना मात्र ठान्दछ र मनोविकारहरूको उपचारका लागि तिनको उन्मुक्त अभिव्यक्तिमा जोड दिन्छ। पशुवृत्तिहरूको परिमार्जन, रूपान्तरण पनि हुन सक्दछ, यो कुरा यसको समझभन्दा टाढा छ।
    दमित वासनाहरूको शमनमा यस सोचको तात्कालिक योगदान हुन सक्दछ, तर मात्र उन्मुक्त भोग, रोगको पूरा समाधान हुन सक्दैन। यसले जुन संस्कारको जन्म हुन्छ, त्यसले समस्या समाधान गर्नुको साटो झन् जटिल बनाइदिन्छ। एउटा ग्रन्थिको उपचार हुँदै गर्दा अर्को ग्रन्थि जन्मन पुग्छ र एउटा कम्प्लेक्स ठीक हुन्जेल अर्को टुसाउन थाल्छ। यो करीब त्यस्तै हो, जस्तो एलोप्याथी औषधिले एउटा रोग निको पार्दापार्दै त्यसको साइड इफेक्टले अन्य कैयौं रोग उम्रन्छ र रोगी चाहिं रोगी नै रहन्छ, अपितु झन् गम्भीर रोगहरूबाट पीडित हुन पुग्छ।
    दमित कामजस्तै दमित इच्छा र भावनाहरू मनोविकारको रूपमा व्यावहारिकस्तरमा देखा परिरहन्छन्, जसले व्यक्तित्वलाई असन्तुलित र असामान्य बनाइदिन्छ। मनको समग्र बुझाइविना यसको सही उपचार सम्भव छैन। मनको प्रवृत्ति मात्र पशुता होइन, यसको स्वरूप मानवीय र दैवीय पनि छ। मनोविज्ञानको मानवतावादी विचारधाराले मानिसको यस उज्ज्वल स्वरूपलाई स्वीकार गर्दछ। यसभन्दा अगाडि साइकोसिन्थेसिस र ट्रान्सपर्सनलजस्तो मनोविज्ञानको धाराले मानिसको आध्यात्मिक प्रकृतिलाई अहम् त मान्दछ, तर रोगी मनलाई निको पार्ने प्रभावकारी प्रविधि प्रस्तुत गर्न असमर्थ छ।
    यहाँ आध्यात्मिक मनोविज्ञान आफ्नो समग्र दृष्टि एवं अचूक उपायको आधारमा प्रभावकारी हस्तक्षेप गर्दछ। यसको स्पष्ट मत के छ भने दमित कामना, इच्छा र भावनाहरूको उपचार न यसको उन्मुक्त भोगमा छ, न दमनमा नै। दुवै साधनले विकृतिलाई अझ बढाइदिन्छन्। यिनको विवेकपूर्ण उपयोग नै उचित हुन्छ, यीबाट स्वतन्त्र–समग्र उपचार हुन सक्दैन। मनोविकारहरूको उपचारको मर्म यिनको रूपान्तरणमा निहित छ। जसरी भौतिक ऊर्जालाई नष्ट गर्न सकिंदैन, यसको रूपान्तरण मात्र गर्न सकिन्छ, त्यसैगरी मनोविकारमा निहित ऊर्जालाई नष्ट गर्न सकिन्न। यसलाई सृजनात्मक दिशा दिएर रूपान्तरित मात्र गर्न सक्नु नै सही उपाय हो।
    मनोरोगहरूको मूलमा तामसिक र राजसिक प्रवृत्तिहरू सक्रिय हुन्छन्। हामी जति तमबाट रजतिर र रजबाट सत्तिर अग्रसर हुन्छौं, मनोविकारहरूको त्यति नै शमन हुँदै जान्छ। मानिसमा दैवीय प्रकृति अभिव्यक्त हुन थाल्छ र उसको मानसिक सन्तुलन स्थापित हुन थाल्छ। अतः आध्यात्मिक उपचार अन्तर्गत तमोगुणलाई रजोगुणमा र रजोगुणलाई सतोगुणमा रूपान्तरित गरिन्छ। यहाँसम्म पुग्दा नपुग्दै मनको स्थिरता यति बन्न पुग्छ कि विखण्डित व्यक्तित्व सन्तुलित व्यक्तित्वमा परिवर्तित हुन्छ र व्यक्तिको परिवेशका साथ समायोजन स्थापित हुन्छ।
    मनोविकारहरूको शमन एवं मानसिक सन्तुलनको यो प्रक्रिया केही चरणमा सम्पन्न हुन्छ। पहिलो चरणमा ‘स्वस्थ स्व’ को विकास गरिन्छ। मनोरोगी प्रायः आफ्नो निम्न जैविक एवं मनोवैज्ञानिक प्रकृतिमा अल्झिरहन्छ। जसले गर्दा ऊ अनैतिक आचरणमा लिप्त रहन्छ। यसले उसमा इच्छाशक्ति दुर्बल र आत्मसम्मानमा कमी पाइन्छ। मनैमन ऊ हीन भावना, अपराधबोधले ग्रस्त रहन्छ, जसले उसलाई चैनले बस्न दिंदैन। अतः स्वस्थ स्वको विकास यसको पहिलो चरण हो। आफ्नो दैवीय स्वरूपको चिन्तन गर्दागर्दै अनैतिक आचरणबाट विमुख हुनेबित्तिकै ऊ माथि उठ्न थाल्छ र उसको स्वस्थ स्व विकसित हुन थाल्छ।
    अति स्वार्थ, अति महत्वाकाङ्क्षा एवं अति अहङ्कारले पनि व्यक्तिलाई लोभ, भ्रष्टाचार, शोषण, हिंसा एवं अपराधी गतिविधिमा लिप्त गराउँछ। यसबाट पनि उसले आफ्नो आत्मसम्मान गुमाउँछ। मनका ग्रन्थिहरूले व्यक्तित्वलाई विखण्डित पार्दै लान्छन्। बाहिरबाट निकै होशियार, चतुर र जबरदस्त बनेर पनि व्यक्ति भित्रबाट निकै कातर, सशङ्कित एवं अस्थिर मनःस्थितिको हुन्छ। सदाचरणको सहयोग लिएर व्यक्ति यस नारकीय अवस्थाबाट माथि उठ्न सक्छ र गुमाएको आत्मसम्मान पुनः प्राप्त गरी एउटा स्वस्थ, सन्तुलित व्यक्तित्वको स्वामी बन्न सक्दछ।
    यसपछि दोस्रो चरण प्रायश्चित विधानको हुन्छ। साँचो मनले गरिएको प्रायश्चित्त प्रभावकारी हुन्छ। केटाकेटी बेलामा, अज्ञानतामा वातावरण एवं परिस्थितिहरूको दबाबले गर्दा कैयौं प्रकारका गलती भएका हुन्छन्। यिनै बानी, संस्कार बनेर व्यक्तित्वलाई गम्भीर मनोविकारको चपेटमा पार्छन्। यिनको त्याग गरेर नयाँ जीवनको सुरुआत गर्न सकिन्छ। यसका लागि पहिले आध्यात्मिक जीवन–दृष्टिको विकास गरिन्छ।
    वास्तवमा जीवनप्रति आध्यात्मिक दृष्टिकोणको विकासले मनोविकारको जडमूल उच्छेदनलाई सुनिश्चित गर्दछ। मनोविकारहरूको गहनतमरूपमा पहिचान यसै आधारमा हुन्छ, अन्यथा मात्र व्यावहारिक, बाहिरी, धरातलीयस्तरमा तिनको पहिचान हुन सक्दैन। अतः उपचार पनि दुष्कर हुन्छ। मनोविज्ञानको आफ्नो पूर्ण इमानदारीको बावजूद यस सूक्ष्म समझको अभावमा चूक हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here