उहिलेका कुरा खुइले

– कुमार रुपाखेती
    कुनै बखत पृथ्वी जयन्ती, प्रजातन्त्र दिवस, शहीद दिवस, राजारानीका जन्मोत्सव आदि राष्ट्रिय पर्वझैं धूमधामले मनाइन्थ्यो, वीरगंजमा चहलपहल बढेको देखिन्थ्यो। सबै तप्काका नागरिक, कर्मचारी, विद्यार्थी, गणमान्य व्यक्ति, शाही सेना, नेपाल प्रहरी आदि सम्मिलित विशाल समूहले नगरपरिक्रमा गर्दथ्यो। जुलुसलाई प्रभावकारी बनाउन विभिन्न कलकारखानाको प्रगति झल्किने झाँकीहरूले रौनक बढाएको हुन्थ्यो। यो बेला गोरखा दक्षिण बाहु र विभिन्न वीरताका पदकले विभूषित महानुभावहरू छातीमा वीरताका पदक झुन्ड्याएर शानले जुलुसमा भाग लिन्थे। यस्ता रमणीय कार्यक्रम हेर्न र रमाउन गाउँगाउँबाट बालबच्चासहित वीरगंज आउने लर्को देखिन्थ्यो। राजाको जन्मदिनमा त्रिजुद्ध हाईस्कूलमा १५
दिनको रमाइलो मेलासमेत लाग्थ्यो। रमाइलो मेलामा उद्योग, कलकारखानाको अवस्था, उत्पादन, प्रगति विवरण आदि सहित छुट्टाछुट्टै स्टल हुन्थे। जसबाट विद्यार्थी र युवाहरू धेरै कुरा सिक्ने र बुझ्ने मौका पाउँथे। रमाइलो मेला हेर्न गाउँ र रक्सौल वरपरका मान्छेहरूसमेत वीरगंज आउँथे। राजारानीको जन्मोत्सवमा गाउँघरमा समेत दङ्गल, पहलवानी, थिएटर, सर्कस आदिले मेलाकै माहोल हुन्थ्यो। राति घ्याम्पो उडाइन्थ्यो। धीरेन्द्र शाह र शरदचन्द्र शाह खेलकूदमा हर्ताकर्ता हुन्जेल राष्ट्रिय खेलकूद समारोहहरूसमेत रोचक, आकर्षक र स्तरीय देखिन्थे। त्यतिखेर बन्द, चक्काजाम आदिको नामोनिशान नभएकोले विनारोकटोक मान्छेहरू यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउँथे, रमाउँथे।
    यतिमात्र होइन, तिनताका वीरगंजमा झुलनको सप्ताहव्यापी रौनक, लाखे नाचको रौनक, घण्टाकर्ण पर्व, भीमसेन जात्रा, गाईजात्रा, नवरात्रि आदिमा निकै उत्साह र जनसहभागिता हुन्थ्यो। दशैं, तिहार, छठ र फगुवा त्यसै पनि रौनकदार थिए उतिबेला। सानातिना चाडहरू नागपञ्चमी, साउने सङ्क्रान्ति, कुशेऔंशी, शिवरात्रि, जनैपूर्णिमा, जन्माष्टमी, असार १५ मा दही–च्यूरा, साउन १५ को खिरपुरी, ठूलो एकादशीसमेत भव्यरूपमा मनाइन्थ्यो। नेवार समुदायको बेलपूजा, अन्य जातिका कुलपूजा, व्रतबन्ध र विवाहहरू मन्दिरमा भइरहन्थे।
    शहीद दिवस, गणतन्त्र दिवस र लोकतन्त्र दिवस अचेल पनि मनाइन्छ। तर यिनमा पहिलेझैं रौनक र जनसहभागिता देखिंदैन। बाध्यतावश कर, बलले यस्ता कार्यक्रमहरू आयोजना गरेझैं प्रतीत हुन्छ। खेलकूद त पूरै रौनकहीन र महत्वहीन देखिन्छ। केही शहरहरूमा निजी क्लबहरूले कतै कतै स्तरीय फूटबल प्रतियोगिता गरेर फूटबल खेल बचाएको देखिन्छ। एन्फामा गणेश थापाले के कसूर गरे त्यो थाहा भएन तर यिनको पालासम्म नेपालको फूटबल टीम दमदार नै थियो। दशैं र फगुवामा मासु र प्याजको दामले आकाश छुने, तिहार, छठताका चिनी, घ्यू अचाक्ली महँगो गरिदिनाले यी महत्वपूर्ण चाडसमेत गरीबको पहुँच बाहिर र रौनकहीन भएको छ। कतिपय चालूपर्जा नेताहरूले यी चाडपर्वमा साडी, पीठो, चिनी बाँडेर सस्तो लोकप्रियता हासिल गर्ने र हाम्रो गरीबीको मजाक उडाउने गरेका छन् अचेल।
    “हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मूल नै सुक्दछ, अनि हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौं” स्व राजा वीरेन्द्रको विगतको यो सारगर्वित भनाइको अहिले कुनै महत्व छैन। किनभने आजकल धर्म निरपेक्षताको नाममा नेपालमा नयाँ–नयाँ धर्मको आगमन र संरक्षण नगर्नाले हिन्दू सभ्यताका सानातिना र महत्वपूर्ण चाडहरू क्रमशः लोप हुँदैछन्। तिहारको रौनक मानिने देउसीभैंलो, मादलको आवाज त वीरगंजमा केही संस्कृतिप्रेमी युवाहरूले धानेको देखिन्छ। पञ्चेबाजा त यता लोप नै भइसक्यो। पञ्चायतकालमा तराईका सिनेमाघरहरूले निश्चित अवधिमा नेपाली चलचित्र प्रदर्शन गर्नैपर्ने, सिनेमा हलले राष्ट्रिय गान बजाउनुपर्ने अनिवार्यतासमेत थियो। अचेल सयौं थुँगा फूलका हामी
(राष्ट्रिय गान) सरकारी सभा, समारोहमा मात्र सीमित छ। धन्य विद्यालयहरूले बजाएर इज्जत जोगाएका छन्।
    धर्म निरपेक्षताको असर पूजापाठमा समेत परेको छ। अचेल पूजापाठ, रुद्री, सत्यनारायणको पूजा, कुशेऔंशीमा कुश पाउन, नाग टाँस्न र डोरो बाँध्नसमेत स्थानीय पण्डितजी (गुरुहरू) भेटिंदैनन् तर भारतबाट छिरेका पोङ्गा पण्डितहरूको जमात नै देखिन्छ। कुनै बेला रौनकदार मानिने वीरगंजको फूलपाती भित्र्याउने चलन अचेल कामचलाउ र घिसापिटा स्तरको देखिन्छ। धर्म निरपेक्ष नेपालमा धर्म र संस्कृतिबाहेक थुप्रै चीजहरूमा आम नागरिकको रुचि र चासो मृतप्रायः देखिन्छ। त्यसैले त ओलीको ठोरीतिरका रामबारे सबै मौन छन्। ओलीको राम सीताराम भएझैं लाग्छ। ठूलालाई आदर गर्ने, भाइचाराको नीति, गाउँले छलफल, भेला, छिमेकीप्रतिको विश्वास, भरोसा र उत्साह, उमङ्ग सबै चीजमा –हास आएको, कमजोर भएको देखिन्छ। सरकारीस्तरबाट जनबल उकास्ने कुनै प्रयत्न भएको देखिंदैन। त्यसैले उहिलेका कुरा खुइले भनी चित्त बुझाउनुपर्छ। उहिलेका कुरा खुइले भएकोले त महानगरपालिकाको फोहरको डङ्गुरमा शहीदका फोटोहरू फालिएका होलान्। अब यसैमा कति स्याल हुइयाँ चल्ने हो। गुलजार साहब भारतको सुप्रसिद्ध कवि हुन्। मलाई उनको एउटा कविता याद छ, जो हाम्रो सरकार र कोरोना महामारी लक्षित लाग्दछ।
    बेवजह घर से निकलने की जरूरत क्या है
    मौत से आँख मिलाने की जरूरत क्या है
    सबको मालूम है, बाहरकी हवा है कातिल
    यूँ हि कातिल से उलझने की जरूरत क्या है
    जिन्दगी एक नेमत है उसे संभाल के रखो
    कब्रागाहमें सजाने की जरूरत क्या है
    दिल बहलाने लिए घरमें जगह है काफी
    यूँ हि गलियोंमें भटकने की जरूरत क्या है।
    वाह गुलजार साहब वाह। अस्तु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here