प्रस, वीरगंज, २६ भदौ/
    वीरगंजका निजी अस्पतालमा कार्यरत एमबिबिएस चिकित्सकहरूको समस्या समाधान भएपछि आन्दोलन स्थगित भएको छ।
    भदौ १ गतेदेखि विभिन्न ५ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग सहमतिमा पूरा भएपछि आन्दोलन स्थगित भएको डा तेजनाथ तिवारीले बताए। मासिक रु ६५ हजार तलबभत्ता, रु २५ लाखको स्वास्थ्य बीमा, अस्पतालमा कार्यरत चिकित्सकहरूलाई क्वारेन्टाइन, आइसोलेशनमा आवश्यक सुरक्षा सामग्रीलगायतका मागहरू राखेर निजी अस्पतालमा कार्यरत १५० जना चिकित्सक आन्दोलित भएका थिए।
    पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, पर्सामा मासिक तलबभत्ताबाहेक चार बुँदामा सहमति भएको थियो। पछिल्लोपटक मासिक तलबभत्तामा समेत सहमति जुटेपछि आन्दोलन स्थगन गरिएको डा तिवारीले बताए। नयाँ चिकित्सकलाई मासिक रु ५० हजार र पुराना चिकित्सकलाई रु ५५ हजार तलबभत्ता दिने सहमति जुटेपछि आन्दोलन स्थगित भएको उनले बताए। निजी चिकित्सकहरूले मासिक ६५ हजार तलबभत्ता माग गरेका थिए। वीरगंजमा करीब दुई दर्जन निजी अस्पताल छन् र त्यसमा १५० जना एमबिबिएस चिकित्सक कार्यरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here