गुरु–चेला !

0
294

– मुकुन्द आचार्य
    मान्छेलाई सामाजिक प्राणी भनिन्छ। त्यै सामाजिक प्राणीलाई अचेल कोरोनाको डरले ‘सोशल डिस्टेन्सिङ’ सिकाउने काम गरिंदै छ। अर्थात् कसैसँग हात नमिलाउनु, कसैसँग अङ्कमाल नगर्नु, भीडभाडमा नजानू आदि इत्यादि।
    संसारभरिको स्वास्थ्यको ठेक्का विश्व स्वास्थ्य सङ्गठनले लिएर आफूलाई जगद्गुरु घोषणा गरेको छ। विश्व स्वास्थ्य सङ्गठन गुरु, अनि सारा संसार उसको चेला भएको छ अचम्म !
    तर कोरोनाको ताण्डव नृत्यलाई डब्ल्युएचओले रौं बराबर पनि रोक्न सकेन। कोरोनाले प्रमाणित गरिदियो– आजको मान्छे सर्वोच्च मूर्ख जन्तु हो। अब मान्छेसँग मान्छे डराउने !
    यो मानव समाजमा कोही पनि चेला बन्न चाहँदैन। सबै गुरु बन्न चाहन्छन्। अहिले जल्ले पनि भन्छस साबुन–पानीले हात मलीमली धुनु, मास्क लाउनु, मान्छेहरूबाट टाढै बस्नु, यो यो खानु, यो यो नखानु आदि इत्यादि। सबै सजिलैसँग डाक्टर भएका छन्। सबै स्वघोषित डाक्टर भइसके।
    संसार हल्लाइदिने कोरोनाको कीराले सोशल मिडियामा देखिएको दृश्य अनुसार आफ्नो जुँगा बटारेर भन्छ रे– यो मान्छे त कीराभन्दा पनि गएगुज्रेको जन्तु हो। अब कोरोना जगत्गुरु भयो कि भएन ? जितेको जुवाडे गुरु समान हुन्छ रे ? कोरोनालाई मान्छेको गुरु मान्नै पर्छ।
    यौटा गुरु हैन गुरुघण्टाल थियो रे, हाम्रै जस्तो कुनै देशमा। अनेक थरीका भेराइटी पनि थिए चेलाहरूको ठूलो समाजमा। जसरी गुरुबाट गुरुघण्टाल हुने थुप्रै छन्, त्यसैगरी चेला चपाट, चेला चण्डाल पनि प्रशस्तै पाइन्छन्।
    यस्तै कुनै गुरुघण्टालले आफ्नो चेला चण्डालसँग सोधेछ, मेरो प्रश्नको उत्तर दिन्छौं ?
    चेलो त चण्डाल नै थियो ? हतपत भन्यो, गुरुजी जे सोध्नु छ सोध्नुस्। म तपाईंलाई आफ्नो जवाफले पूर्ण सन्तुष्ट पार्न सक्छु।
    गुरु गोरु दङ्ग परेछ। गुरुले यौटा अँध्यारो कोठामा सबै चेलालाई लगेछ। अँध्यारो कोठामा पुगेर यौटा मैनबत्ती र सलाई मगायो। कुनै चेला पनि आफू पटमूर्ख हुँ भन्ने प्रमाणित नहोस् भनी सबै सचेत थिए।
    गुरुले सलाई कोरेर मैनबत्ती सल्कायो। अनि प्रश्न ग–यो, यो प्रकाश कहाँ थियो ? यो त शब्दहरूको खेल मात्र होइन, भन्ठानेर सबै गम्भीर भएर सोच्न थाले। कसैलाई क्यै फुरेन !
    चेला समूहमा खासखुस शुरू भयो। गाईंगुईं चलिरह्यो। गुरुले उदारता देखायो, ठीक छ तिमीहरूले आत्तिनुपर्ने क्यै छैन। भोलि यसैबेला सबै आउनु र जवाफ दिनु है त !? सोच्ने समय दिएँ।
    अर्को दिन गुरुले पुनः सोध्यो, अँध्यारो कोठामा उज्यालो कहाँबाट आयो ?
    यौटा हक्की चेलाले त्यो मैनबत्ती फुकेर निभाइदियो। अनि गुरुलाई भन्यो, गुरुजी प्रकाश कहाँ गयो ? अर्को चेलाले जवाफ दियो प्रकाश जहाँबाट आएको थियो त्यही गयो। यसरी गुरु र चेलाको प्रश्न र उत्तरको र्याङको ठ्याङ् मिल्यो।
    गुरु र शिष्यको माझ यस्तो अनेक प्रश्न–उत्तरका खानी छन्। नपत्याए अकबर–वीरबल विनोद भन्ने नामूद पुस्तक जस्तै अनेक स्रोत फेला पर्न सक्छन्।
    यसै क्रममा हेर्दै जाँदा अनौठो उल्का भेटिन्छ। यौटा चतुर चेलाले आफ्नो मुठीमा क्यै लुकाएर सबैका सामु गुरुलाई सोधेछ, तपाईं त ठूलो विद्वान् हुनुहुन्छ, लौ भन्नुस् त मेरो मुठीमा के छ ?
    भयो फसाद १ बिचरा गुरुले अब के जवाफ दिएर आफ्नो नाक जोगाउने ? यस्तै चेलालाई तराईमा यसरी शुभ   आशीर्वाद दिइन्छ। ‘जिय जाग चुल्ही में लाग १’
    कुनै गुरुले आफ्ना दुई शिष्यलाई खुट्टा थिच्ने काम जिम्मा दिएछन्। यौटाले दाहिने खुट्टा अर्कोले देब्रे खुट्टा थिच्ने गर्थे। सधैं यस्तै हुन्थ्यो। आफ्नो भागमा परेको चरण सेवा गरी दुवै शिष्य र गुरु पनि मग्न थिए।
    एक दिन यौटा चेलो बिरामी परेछ। अर्को चेलोले आफ्नो अंशको मात्र चरण सेवा गरेछ। अर्को चरण त हे–याहे–यै भयो। कलियुगमा चेलाहरू पनि यस्तै हुन्छन्। तर अब हुँदाहुँदा ‘गुरु गुँड चेला चिनी’को जमाना आइसक्यो।
    कोरोनाको सबभन्दा सकारात्मक पक्ष चैं देखियो भने सबै डाक्टर भएका छन्। सबै मनपर्दो पारामा डाक्टर भएर उपध्रो छ। को गुरु हो, को चेला हो भन्नै गा–हो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here