दुखन धामीको शासनकाल

140

– सञ्जय मित्र
    सामाजिक सुखको आफ्नै सत्ता हुँदोरहेछ। सत्तासुखको प्राप्तिमा मानिस बाहिरको संसारसित जोरी खोज्दो रहेछ। आफूलाई श्रेष्ठ बताउन प्रत्यक्ष र छद्म प्रयास गर्दोरहेछ। सामाजिक सुख एकातिर सामाजिक सत्तासित सम्बन्धित छ, जसले प्रतिष्ठा र अहम्को ऐनामा आफ्नो अनुहार देख्दछ।
    सुखको खोजी नगर्ने कोही हुँदैन। जसले अरूको नजरमा सुखको प्राप्ति गरेको छ, उसले झन् बढी मिहिनेत गरेर सुखको खोजी गरिरहेको हुन्छ। वर्तमान सुखलाई टिकाउने चुनौतीहरूसित सङ्घर्ष गर्दै थप सुखको प्राप्तिको अभिलाषाले निरन्तर ‘लिगलिग’ दौड गरिरहन्छ मान्छे। यस प्रकारको सुखको खोजीलाई भौतिक सुखको खोजी भन्न सकिन्छ।
    सुख आफैंमा अपरिभाषेय छ। यससित अपरिचित भने कोही छैन। हरेकले सुखको अनुभूति गरेको हुन्छ। सुखको अनुभूति नगरेको मानिस कहिल्यै पनि म दुःखी भएँ भनेर भन्न सक्दैन। सुख भोग्ने र अनुभूति गर्ने दुई किसिमका हुन्छन्। भोग्ने भनेको भौतिक र अनुभूति गर्ने भनेको आत्मिक सुख हुनुपर्छ। दुवैमध्ये कसको संसार ठूलो छ ?
    आत्मिक सुखको खोजीको संसार संस्कृतिको घेराबन्दीमा हुन्छ। उन्मुक्त हुँदैन। स्वच्छन्द हुँदैन। हो, आफ्नो संस्कृति र परिवेशको बलियो तर अदृश्य पर्खालभित्र रहेर मानिस आत्मिक सुखको खोजी गरिरहेको हुन्छ। सुखको खोजीमा रमाइरहेको हुन्छ। यदि सोध्ने हो भने यस प्रकारको सुखको खोजीको प्रमाण अनेक बन्न सक्दछ तर आत्मिक सुखको पनि सत्ता हुन्छ। सत्ताधारी हुन्छन्। सत्तामा बस्नेले आशीर्वाद बाँडिरहेको हुन्छ। आशीर्वाद पाउन मानिसले प्रयत्न गरिरहेको देखिन्छ।


    दुखन धामीले आत्मिक सुखको प्रसाद वितरणमा पचपन्न वर्ष बिताए, अर्थात् पचपन्न वर्षसम्म एउटा आत्मिक सुखको खोजी गर्नेहरूको सत्तामाथि विराजमान रहे। उनी आफैं सुखी भए/भएनन्, एउटा पक्ष हो तर अर्को पाटो यो हो कि उनको शासनसत्ताले आत्मिक सुख खोजी गर्नेहरूको विशाल साम्राज्य खडा गरेको थियो। हरेक पाँच वर्षमा उनको सत्ताको अनुमोदन लाखौं श्रद्धालुले गर्दथे।
    महागढीमाई नगरपालिकाको गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेला दुखन धामीको शासनकालमा उत्कर्षमा पुग्यो। दुखन धामीले केही हप्ता पहिले अन्तिम सास लिए, आफूलाई पञ्चभूतमा मिलाए। उनी यस धर्तीबाट बिलाए। अब उनको शासनकालको मूल्याङ्कन भइरहेको छ।
    दुखन धामी मूल पुजारीको आसनमा विराजमान हुँदाको समय वा त्यसभन्दा पहिले गढीमाई र यहाँको मेला प्रसिद्ध थिएन भन्न खोजेको होइन। सयौं वर्षदेखि मेला लाग्दै आएको हुनाले श्रद्धा र प्रसिद्धि दुवै उत्तिकै थियो तर पचपन्न वर्षमा गढीमाई मेलाको प्रसारले उत्कर्षको यात्रा ग–यो। पछिल्लो आधा शताब्दीभन्दा लामो कालपछि वर्तमानसम्म आइपुग्दा पहिले बरियारपुरको गढीमाई भनेर सीमित प्रचार हुन्थ्यो तर अब महागढीमाई भनेर नगरपालिकाको नाम नै राखिएको छ। गढीमाईको पहिचानबाटै स्थानीय तहको पहिचान हुनु ठूलो कुरो त होइन, तर पहिचानको सर्वस्वीकृति भने निकै महत्वपूर्ण छ। भारतको झारखण्डको देवघरलाई देवघर भनेर जतिले जान्दैनन्, त्योभन्दा हजारौं गुना बढीले बाबाधाम भनेर जान्दछन्। गढीमाईको सवालमा यो हुन पाएन। यसैले सर्वस्वीकृतिको महागढीमाई एउटा महत्वपूर्ण पाटोको रूपमा देखिन्छ।
    गढीमाईलाई अब महागढीमाई भनेर पूजा वा श्रद्धा गर्न थालिएको छ। दुखन धामीको शासनकालमा नै आस्थाको महागढीमाई, भूगोलको महागढीमाई तथा मेलाको महामेला वा नेपालको महाकुम्भको सर्वमान्यता पाउन सफल भएको हो। यस अर्थमा पनि दुखन धामीको शासनकाल उच्च कोटिको सफल देखिन्छ।
    कतिपयले अन्धविश्वास पनि भन्लान्। अन्धविश्वास पनि एउटा विश्वास हो र विज्ञान पनि एउटा विश्वास हो तर गढीमाई देवी, गढीमाई मन्दिर, गढीमाई मन्दिर परिवेश र गढीमाई नामप्रति आस्था एवं श्रद्धा राख्नेले त्यहाँका पुजारीप्रति पनि निस्सन्देह श्रद्धा राख्छन्। विभिन्न क्षेत्रका निकै ठूला मानिसलाई पनि धामीले दर्शन गराए। धामीले पनि आशीर्वाद दिए। पूजा गराए। धामीको आशीर्वादको मूल्य र महत्व कुनै पनि मानेमा कम थिएन।
    दुखन धामी जो लाखौंको लागि वरदान थिए, आशीर्वाद थिए। गढीमाई र भक्तजनबीचका वाहक थिए। जसको शरीरमा स्वयम् गढीमाई आएर उनी काँप्थे भन्ने विश्वास थियो। उनै दुखन धामी वास्तवमा निकै सरल थिए। उनको जीवन अत्यन्त सरल थियो।
    अति सरल व्यक्तित्वका धनी, शान्त स्वभाव र बिल्कुलै घमण्ड नभएका व्यक्तित्वको रूपमा धामीको परिचय थियो। अर्थ वा द्रव्यप्रति पनि उनको त्यति मोह थिएन। अरूलाई हात जोडेरै सम्मान गर्ने उनको बानी थियो। नरम बोली बोल्दथे। सामान्य भेटमा पनि उनी यस्ता बुझिन्थे कि एउटा अदृश्य आकर्षणका पुञ्ज हुन्। किन किन उनलाई भेटेपछि उनीप्रति अभ्यन्तरमा श्रद्धाको धरहरा ठडिन्थ्यो। उनलाई भेटेर छुट्टिएर टाढिंदै गएपछि श्रद्धाको त्यो धरहरा झन्झन् अग्लिंदै जान्थ्यो। कता कता अभ्यन्तरमा लाग्थ्यो कि उनी एक निष्काम व्यक्तित्व हुन्। समाजले उनीबाट धेरै कुरा सिक्न बाँकी छ।
    आफ्नो गाउँमा अति सामान्य व्यक्तित्व दुखन धामी गढीमाई मेलाको समयमा कस्ता महत्वपूर्ण व्यक्तित्व हुन्थे ? लाखौं मानिसका लागि श्रद्धाको सर्वोच्च प्रतिभा बनेका धामी तडकभडकमा विश्वास गर्नेभन्दा अभ्यन्तरमा हेर्दथे। यही नै उनको सम्पत्ति थियो।
    अहिलेको परिचित महागढीमाई दुखन धामीको शासनको एउटा विशाल पाटो हो। महागढीमाईले यति धेरै प्रसिद्धि पाउँदा पनि उनी गुमनाम बनिरहे। महागढीमाईको विशाल प्रसिद्धिको सुवासमा उनको गुमनामीको सुगन्ध विस्तार भएको छ। नामले कसैले उनलाई नचिनून् तर उनको कामले उनलाई सदैव चिनाइरहनेछ। उनको शान्त स्वभावले आस्थाको क्षेत्रमा एउटा क्रान्ति सम्पन्न गरेको छ र महागढीमाई नगरपालिकाको नामकरण त्यसको प्रतीकको रूपमा विश्वसामु आइफेल टावरभन्दा अग्लो भएर उभिएको छ।
    आत्मिक सुख प्राप्तिको यात्राका लाखौं यात्रीका लागि एउटा आदर्श व्यक्तित्वको महाप्रस्थान यति शान्तिपूर्ण रह्यो कि आस्थाको शान्त पोखरीमा कुनै हलचल भएन। यो सुखद आश्चर्य हुनुपर्छ। आस्थाको महाप्रतीक महागढीमाई नगरपालिकाको गढीमाई मन्दिरको पचपन्न वर्षसम्म पुजारी रहेका दुखन धामीप्रति शत्पुष्प श्रद्धाञ्जलि !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्