गत वर्ष बनाएको नाला यस वर्ष भत्काइयो

108

प्रस, वीरगंज, २६ भदौ/
    छिपहरमाई गाउँपालिकाको भिस्वामा गत वर्ष निर्माण गरिएको नाला यस वर्ष भत्काइएको छ।
    जनताको इच्छा र आवश्यकता नबुझी रकम सिध्याउन गाउँपालिकाले गत वर्ष बनाएको नाला यस वर्ष भत्काउनुपरेको हो।
    गापा अध्यक्ष मनोज गुप्ताको एकल निर्णयले दर्जनौं घर भत्काएर गत वर्ष नाला निर्माण भएको थियो। सो गाउँमा नाला निर्माण गर्न लाग्दा स्थानीयले विरोध गरेका थिए। तर गापा अध्यक्ष गुप्ताले कसैको कुरा नसुनी निर्माण कार्य सम्पन्न गरेका थिए।
    नालाको कारण अहिले दर्जनौं घर डुबानमा परेपछि नाला भत्काइएको वडाध्यक्ष मौजीलाल साहले जानकारी दिए। सडक निर्माणपछि आवश्यकताभन्दा बढी उचाइको नाला निर्माण गर्दा विरोध गर्ने स्थानीयहरूलाई विपक्षी भन्दै जनप्रतिनिधिहरूले बल प्रयोग गरी नाला निर्माण कार्य सम्पन्न गराएका थिए। सो सडकखण्ड प्रदेश सरकारले निर्माण गर्दैछ, जुन चालू आर्थिक वर्षमा सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ।
    भिस्वाका दर्जनौं घरको झ्यालसम्मको उचाइमा बनाइएको नालाले पानीको निकास रोकेपछि अहिले नाला भत्काउन लागिएको गाउँलेले बताए।
    यस विषयमा गाउँपालिका अध्यक्ष मनोज गुप्ताले गाउँलेहरूको घर डुबानमा परेको सामूहिक निवेदन दर्ता भएपछि नालाको उचाइ कम गर्न लागेको जानकारी दिए। नाला निर्माण गर्दा उचाइ बढी भएकोले होचो बनाउन लागेको र केही व्यक्तिले यो मुद्दालाई ठूलो बनाउन खोजेको उनको भनाइ थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्