प्रस, परवानीपुर, २५ भदौ/
नारायणी अस्पताल वीरगंजको स्तरोन्नतिको लागि अर्को भवन निर्माण कार्यको लागि वीरगंज–२१ लिपनीबिर्ताका जनता सहमत भएका छन् ।
वीरगंज–३ छपकैयामा ४ बिघा क्षेत्रफलमा रहेको नारायणी अस्पतालको संरचनाले आगामी दिनको सेवालाई धान्न नसक्ने देखेर अस्पताल विकास समितिले वीरगंजमैं अर्को ठाउँमा करीब ५ बिघाभन्दा बढी जग्गा खोजी गरिरहेको छ । सोही अनुरूप वीरगंज महानगरको लिपनीबिर्तामा विपश्यना ध्यान केन्द्र परवानीपुरको दक्षिणमा रहेको गैयाघाटको जग्गा उपलब्ध गराउन स्थानीय सहमत भएका छन् ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीको अगुवाइमा एक टोलीले सो ठाउँको स्थलगत निरीक्षण गरेर स्थानीयहरूसँग अन्तत्र्रिmया गरेको छ । सो क्रममा वडा कार्यालय र स्थानीय जनताले ऐलानी जग्गा नारायणी अस्पताललाई उपलब्ध गराउन सहमति जनाएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले बताए ।
नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नारायणी अस्पतलाको स्तरोन्नतिको लागि ५० मिटर लम्बाइ र ५० मिटर चौडा ब्लक भवन बनाउन जग्गा उपलब्ध गराउन नारायणी अस्पताललाई पत्राचार गरेको र जिल्लाबाट जग्गा किटान गरी पठाउँदा मन्त्रालयले सो क्षेत्रमा नारायणी अस्पतालको अर्को भवन बनाउने योजना रहेको अध्यक्ष लाभले प्रस्ट्याए ।
सरकारले जग्गा मागेको छ, उसैले निर्माण कार्य गराउने हो, अब वीरगंज महानगरको कार्यपालिका बैठकले जग्गासम्बन्धी निर्णय गरी भूमि तथा व्यवस्था मन्त्रालयको स्वीकृतिमा नारायणी अस्पतालको नाममा जग्गा दर्ता भएपछि सरकारले काम थाल्ने उनले बताए ।
जग्गाको अभावमा नारायणी अस्पतालको पुरानै भवन तथा संरचनामा काम गर्नुपर्दा चिकित्सक तथा कर्मचारीका साथै बिरामीले समेत समस्या खेप्नुपर्ने उनको कथन छ । अर्को भवन बनेमा विशेषज्ञ सेवासहितको नारायणी अस्पतालको अर्को युनिट परवानीपुरबाट सञ्चालन गर्न सकिने उनले बताए । जग्गा निरीक्षण गर्न पर्सा काङ्ग्रेसका सभापति अजय द्विवेदी, जसपाका नेता रामनरेश यादव, तबरेज अहमद, जतनराउत कुर्मी, जालन्धर पटेल, अनिल श्रीवास्तव लगायतको टोली लिपनीबिर्ता पुगेको थियो ।