प्रस, रौतहट, २४ भदौ/
विजय महरा रामको भदौ १० गते राति प्रहरी हिरासतमा भएको मृत्यु सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी उपरीक्षक रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रउ खड्कासहित इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्वय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुद्दा दर्ता भएको हो । मुद्दा दर्ता भएका रौतहटका प्रउ खड्कालाई घटनापछि प्रहरी प्रधान कार्यालयले केही दिनअघि तानेको थियो । यसैगरी, प्रनि सिंह र हवल्दारद्वय सिंह र धुनियालाई यसअघि जिप्रका रौतहटको सिफारिशमा गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
मृतक रामका बुबा पनिलाल रामले प्रउ खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकीलको कार्यालयमा यातना तथा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले बताए । गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा विजय महरा रामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा उनलाई यातना दिइएको र त्यसैको कारण उनी बिरामी परेर उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा मृत्यु भएको पीडित पक्षको दाबी छ ।