प्रस, गरुडा, २५ भदौ/
रौतहटको गरुडा बजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकका अधिकांश कर्मचारीमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि अनिश्चितकालको लागि बैंक बन्द गरिएको छ ।
बैंकले शाखाका अधिकांश कर्मचारीमा कोभिड–१९ सँग मिल्ने लक्षण देखा परेको हुँदा सोको परीक्षण भई नतीजा नआउन्जेलसम्म सम्पूर्ण कर्मचारीहरू आइसोलेशनमा बस्नुपर्ने हुँदा बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । रावा गरुडा बजारका शाखा प्रबन्धक घनश्याम कटुवालले एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकोले बैंकको सेवा बन्द गरिएको बताएका छन् ।
पहिलेदेखि नै कर्मचारीको ग्राहकसित प्रत्यक्ष भेटघाट नभई सीमित कर्मचारीमार्पmत् ग्राहकको काम सतर्कतापूर्वक गराइरहेकोले कर्मचारीबाट ग्राहकमा सङ्क्रमणको कुनै सम्भावना नरहेको पनि शाखा प्रबन्धक कटुवालले जानकारी गराएका छन् । एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि
मिल्दो लक्षण देखिएकाले सबै कर्मचारीलाई परीक्षण गराउनुपर्ने हुँदा स्थानीय गरुडा नगरपालिकालाई परीक्षणको पहलको लागि जानकारी गराइसकिएको कटुवालले बताएका छन् ।
शाखाका कर्मचारी सङ्क्रमित भएपछि केन्द्रीय कार्यालयले पनि बैंकलाई सिल गर्ने निर्देशन दिएकोले बैंकबाट प्रवाह हुने सेवा केही दिनको लागि बन्द गरिएको कटुवालको भनाइ छ ।
रौतहटको मध्यभागमा पर्ने ठूलो बजार गरुडा भएकोले सयौंले दैनिक करोडौंको कारोबार गर्दै आएका थिए । गरुडामा एक दर्जन बैंक तथा वित्तीय संस्था छन् । रावा बैंक बन्द भएपछि सेवाग्राहीहरू आउने र निराश भएर फर्किन थालेका छन् ।