प्रस, परवानीपुर, २५ भदौ/
वीरगंज–२१ लिपनीबिर्ता हिमालयन डिस्टिलरीको पूर्वमा रहेको श्रीसिया खोलामा निर्माणाधीन काशी तिवारी पुल निर्माणको काम ६ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन ।
तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेको यो पुलको काम २०७१ मङ्सिर २४ गते शिलान्यास गरी दुई वर्षभित्र निर्माण हुनुपर्नेमा ६ वर्ष बित्न लाग्दा पनि ठेकेदार कम्पनीको लापरवाहीको कारण पुल निर्माण कार्य अलपत्र परेको स्थानीय लिपनीबिर्ताका वडा सदस्य जतनराउत कुर्मीले गुनासो गरे ।
लिपनीबिर्ताको आवर संसार संस्थाको भवनदेखि विपश्यना ध्यान केन्द्रसम्म जोड्ने ७.२ मिटर चौडाइ र ३५ मिटर लम्बाइको पुल निर्माणको काम ६ वर्षमा ८५ प्रतिशत मात्र सम्पन्न भएको छ । अढाई करोड रुपैयाँको लागतमा हेटौंडाको सपना कन्स्ट्रक्शनले पुल निर्माणको ठेक्का लिएको र २०७७ सालमा काम सम्पन्न गरी हस्तान्तरण गर्ने दाबी गरेको छ । तर सुस्त गतिमा काम भएको र हालसम्म ६ वर्षको लामो अवधि बिताएकोले ठेकेदारको दाबीमा स्थानीयले विश्वास गरेका छैनन् । गरे तापनि कामको सुस्तता देख्दा यस वर्ष पनि काम नहुने छाँटकाँट देखिएको छ ।
पुलको दुवै छेउमा बोल्डर, तारजाली तथा सडक निर्माणको लागि प्रदेश २ सरकारसँग गुहार गरिएको छ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनललाई स्थानीयले पुल सञ्चालनको लागि सडक निर्माण गर्न बजेट उपलब्ध गराउन माग गरेका छन् ।
मन्त्री सोनलले भदौ २६ गते शुक्रवार प्रदेश २ सरकारको भौतिक पूर्वाधार कार्यालय वीरगंजका इन्जिनीयरसहित स्थलगत निरीक्षण गर्ने बताउँदै पुल सञ्चालनको लागि सडक निर्माण गर्न बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री सोनलसँग लिपनीबिर्ताका स्थानीय जनप्रतिनिधिहरूले पुल निर्माणको लागि अग्रसरता देखाउन आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here