प्रस, वीरगंज, २५ भदौ/
वीरगंज महानगरपालिकामा निषेधाज्ञा भदौ मसान्तसम्मका लागि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज बसेको बैठकले भदौ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।
उनले बैठकले निषेधाज्ञा बढाएको तर पसलहरू सञ्चालनमा खुकुलो गरेको बताए । साउन १० गतेदेखि वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागेकोमा भदौ १९ गतेदेखि पसल, व्यवसाय, तरकारी बिक्रीका लागि समय प्रदान गरिएको थियो । आजको बैठकले यसअघि जोर–बिजोर दिनमा पसल, व्यवसाय सञ्चालन हुँदै आएकोमा सो परिवर्तन गर्दै दैनिक बिहान ११ देखि ४ बजेसम्म सबै पसल, व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । शनिवार भने सबै पसल, व्यवसाय बन्द गर्नुपर्नेछ ।
यसैगरी, तरकारी बजारको लागि यसअघि प्रदान गरिएको स्थान र समय बिहान ५ देखि ८ बजेलाई यथावत् राखिएको छ । यीबाहेक सञ्चालनमा रोक लगाइएका होटल, सिनेमा घर, जिमखाना, सैलुन र सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यथावत् राखिएको छ ।