होलो भएको हो ?

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

लामो समयपछि पर्सामा कोरोना सङ्क्रमण होलो भएको समाचार आएको छ । आजको देशको कोरोना तथ्याङ्कमा पर्साको नाउँ परेको छैन भने कोभिड अस्पतालमा परिणत भएको वीरगंज हेल्थकेयर अब सामान्य अस्पतालको सेवा दिने सुरसार गर्दैछ । कुनै बेला यहाँ १२० जनासम्म कोभिड सङ्क्रमित उपचाररत रहने गरेकामा अहिले सङ्क्रमित शून्य बनेको छ । जिल्ला प्रशासन र कोभिड उपचारमा संलग्न चिकित्सकहरूले समेत जिल्लामा सङ्क्रमण दर शून्यमा झरेको जानकारी दिएका छन् । यसै मेसोमा जिल्लालाई असोज महीनादेखि निषेधाज्ञामुक्त बनाइने सुखद समाचार पनि आएको छ । यद्यपि प्रशासनको यो भनाइ सशर्त हो । अवस्था अहिलेजस्तै रहे महानगरबाट निषेधाज्ञा हटाइनेछ । हुनत यो अवस्था वास्तवमा सङ्क्रमणशून्यता नै हो भन्न सकिने पोख्ता सबुत भने होइन । अहिले कोभिड सङ्क्रमणको सामान्य परीक्षण नगरेर कन्ट्याक्ट ट्रेसिङलाई मात्र परीक्षण गरिने नीतिले यो अवस्था आएको हुन सक्छ । अर्थात् परीक्षण कम र सङ्क्रमणको दर पनि कम ।
यद्यपि अहिलेको बेला यही व्यवहारगत हो । किनकि बितेका दिनमा हामीले भोगेको यथार्थ के हो भने अब मानिस कोरोनाबाट होइन अभाव, भोकमरी र अवसादबाट डराउन थालेका छन् । जिल्लामा कोभिड सङ्क्रमणबाट ४२ जनाको मृत्यु भएको छ भने यसै अवधिमा ५८ जनाले आत्महत्या गरेका छन् । सबै मृत्यु कोभिड सङ्क्रमणले भएको होइन, जो दीर्घरोगी थिए, कोभिडले उनीहरूको जीवन छोट्याएको मात्र हो । त्यसैगरी, आत्महत्या गर्नेहरूले कोभिडकै भयले आत्महत्या गरेका होइनन् । केहीले घरायसी विवाद, केहीले प्रेम प्रसङ्ग, केहीले अवसाद सहन नसकेर अनि केहीले निरन्तर घरमा बस्दा परिवारमैं विवाद भएर आत्महत्या गरेका हुन् । तर मरणको तथ्याङ्कमा कोभिडबाट ४२ र कोभिडजन्य परिणामबाट ५८ भन्दा बरु प्रत्यक्ष कोभिड लागोस्, त्यसको परोक्ष परिणाम फलीभूत नहोस् भन्ने सबैको कामना देखिएको छ । यो तब मात्र सम्भव हुन्छ, जब कोभिडको नाउँमा नागरिकलाई कर्मविहीन बनाउने सरकारी नीति परिवर्तन हुनेछ । चीन, अमेरिका, बेलायत, रूसलगायत मुलुकमा कोभिडरक्षक खोप बनाउने काम अन्तिम चरणमा पुगेको छ । हुनत बेलायतमा खोप परीक्षण हाललाई स्थगित गरिएको छ, तर कहीं न कहीं, कसै न कसैले त अवश्य पनि खोप बनाउन सफलता प्राप्त गर्नेछ ।
राज्य र प्रशासनले नागरिकलाई जागरूक, सतर्क र उपचार गर्ने मात्र हो । केही हदसम्म, जागरूक र सतर्क रहने बानी नबसुन्जेल कडाइ पनि गर्दा आपत्तिको कुरा आउँदैन तर लकडाउन र निषेधाज्ञाबाहेक अरू विकल्प नदेखेर मेरो गोरुको बा-है टक्का भन्ने लिंडेढिपी लिने हो भने अवस्था अझ भयावह हुन सक्छस कोभिडबाट होइन, कोभिडजन्य दुष्परिणामबाट । तथ्याङ्कहरूले बताइ नै रहेको छ, कोभिडले जति मारेन यसको दुष्परिणामले मा-यो । अहिले अतिशय सङ्क्रमण बढेको राजधानी शहरहरूमा पनि निषेधाज्ञा खुकुलो पार्ने विचार–विमर्श हुँदैछ । पर्सा जिल्ला त प्रशासनकै रेकर्डमा सङ्क्रमण शून्य र ग्रीन जोन बन्न पुगेको छ । असोजदेखि धार्मिकलगायत गतिविधिको तयारी गर्नुपर्ने हुँदा अब निषेधाज्ञाको अर्थ जन असन्तोष मात्र हुनेछ । लकडाउनसम्म, त्यो पनि खुकुलो पारेर, भीड हुन नदिएर, मास्क लगाएर दैनन्दिनको कार्य–व्यापार चलायनमान हुन दिनु नै विवेकपूर्ण ठहर्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस