कोरोना सङ्क्रमणभन्दा बढी आत्महत्याबाट मृत्यु

प्रस, वीरगंज, २३ भदौ/
    कोरोना महामारीकालमा पर्सा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको छ।
    पर्सा जिल्लामा कोरोना महामारीकालमा ५८ जनाले आत्महत्या गरेका छन् भने कोरोना सङ्क्रमणबाट हालसम्म ४२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ।
    जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साका अनुसार भदौ २३ गतेसम्म पर्सामा कोराना सङ्क्रमणबाट ४२ जनाको मृत्यु भएको छ।  आत्महत्या गर्नेमा महिलाहरूको सङ्ख्या बढी छ। ३२ जना महिला तथा २६ जना पुरुषले कोरोना महामारीको समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    जिल्लामा आत्महत्याको सङ्ख्या बढ्न थालेपछि सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्।
    सोमवार मात्र पोखरिया नपामा मात्र दुईजना महिलाहरूले आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा आर्थिक स्थिति कमजोर, घरपरिवारको अपहेलना र घरेलु हिंसा भोगेका, पे्रम प्रसङ्ग, बहुविवाह, वैदेशिक रोजगारलगायत कारण रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
    लकडाउन र निषेधाज्ञाका कारण घरपरिवारसँगै बस्दा हुने झगडा, आवश्यकता पूर्ति गर्न नसक्नु, रोजगार र दैनिक उपभोग्य खानेकुराको समस्यालगायत कारणले पनि आत्महत्याको घटनामा बढोत्तरी भएको प्रहरी अनुसन्धानले जनाएको छ।
    

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्