प्रनाउसहित २० प्रहरी सङ्क्रमित

प्रस, गरुडा, २४ भदौ/
    रौतहटमा एकै दिन २० जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीसहित २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालीसेले जानकारी गराएका छन्।
    गत शुक्रवार चन्द्रपुर नपाबाट प्रहरीसहित ४१ जनाको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएकोमा २० जना प्रहरीसहित २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको चालीसेले बताए। बुधवार पिसिआर रिपोर्टको नतीजा आउँदा आफूसमेत २० जनामा कोरोना सङ्क्रमण देखिएको प्रनाउ शाहीले बताए। ठूलो सङ्ख्यामा प्रहरीमा एकसाथ कोरोना सङ्क्रमण देखिए पनि शान्ति सुरक्षालगायत इलाका प्रहरी कार्यालयबाट प्रदान गरिने सेवामा कुनै कमीकमजोरी हुन नदिन आफूहरू संवेदनशील रहेको प्रनाउ शाहीको भनाइ छ।
    बुधवार आएको रिपोर्टमा रौतहटको यमुनामाई गाउँपालिकामा १२, दुर्गा भगवती गाउँपालिकामा २२ र चन्द्रपुर नगरपालिकामा २८ गरी ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
    मङ्गलवार इलाका प्रहरी कार्यालय गरुडाका ७ जना थुनुवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
    इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा थप प्रहरी पठाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here