भेडाहा पुल निर्माण भएको तीन वर्षमा पनि सञ्चालन भएन

0


नरेश यादव, पर्सागढी, २२ भदौ/
    वीरगंज महानगरपालिका–२९ र ३१ मा रहेको भेडाहा खोलामा निर्मित पक्की पुल निर्माण भएदेखि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सो पुल निर्माणका लागि आव २०७१/०७२ मा पप्पु र समा कन्स्ट्रक्शनले रु ७ करोड ७५ लाखमा ठेक्का लिएका थिए।
    निर्धारित समयभन्दा तीन वर्ष ढिलो पुल निर्माण भएको हो। ४ सय मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की निर्माण सम्पन्न भएको तीन वर्ष भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। पुल निर्माण हुँदा वडावासीहरूले कुनै विरोध, अवरोध गरेनन्। तर पुल निर्माण सम्पन्न भएपछि त्यसका लागि सडक निर्माण गर्दा मुसौली र बेलवाका स्थानीयले सडकखण्ड निजी जमीनमा भएको भन्दै बाटो बनाउन अवरोध पु–याएका थिए।
    उनीहरूले पुलदेखि पूर्व र पश्चिम दुवैतर्फको सडकमा निजी जमीन परेको भन्दै पञ्चायती गरे, अदालतमा मुद्दा पनि दिए। पर्सा जिल्ला अदालतले राजदेव राउत र मानदेव राउतले दिएको मुद्दामा हकदाबी ठहर नहुने भनी फैसला ग–यो। सोही फैसलालाई उच्च अदालतले पनि सदर गरेको छ। अदालतबाट मुद्दा हारे पनि पुलदेखि पूर्व र पश्चिमतर्फको सडकखण्ड अहिलेसम्म निर्माण भएको छैन।
    लकडाउनअगाडि सडक विभाग, पर्सा क्षेत्र नं. १ का सांसद, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीयबीच छलफल भएर सडक निर्माण गर्न दिने र पुल सञ्चालन गर्ने सहमति भएको थियो। तर पनि अहिलेसम्म सडक निर्माण हुन सकेको छैन। स्थानीयको अवरोध जारी छ। सडकखण्डको दुवैतर्फ निजी जमीन भएको दाबी गर्नेहरूले पञ्चायतीबाट रु ६ लाख ५१ हजार बुझेको तर सडक निर्माण गर्न नदिएको निर्माण कम्पनी समा कन्स्ट्रक्शनका सञ्चालक जहुर मियाँले बताए। उनले पुल निर्माण गर्ने क्रममा कसैले अवरोध नगरेको तर पुल निर्माण भएपछि सञ्चालनमा पूर्व बेलवा र पश्चिम मुसौलीका स्थानीयले सडक निजी जग्गामा भएको भनी एकतर्फी विवाद सृजना गरेर सञ्चालन हुन नदिएको आरोप लगाए। उनले तीन वर्षदेखि पुल सञ्चालनका लागि सडकको विषयलाई लिएर आफू निकै तनावमा रहेको बताए। अनावश्यकरूपमा लाखौं रुपैयाँ खर्च भएपनि विवाद साम्य नभएको उनको भनाइ छ।
    ६ वर्षअगाडि निर्माण शुरू भएको पुल ३ वर्षअगाडि निर्माण सम्पन्न भएपछि अहिलेसम्म सञ्चालनमा नआउँदा पुलमा दिउँसो जुवातास खेल्ने, सेल्फी खिच्नेहरूको जमघट हुने गरेको छ भने बेलुकीपख जँड्याहा र प्रेमीहरूको अखाडा बनेको छ। बस्तीदेखि २ सय मिटर टाढा भएकोले एकान्त पुलमा राति र दिउँसो यिनै व्यक्तिहरूको जमघट हुने गरेको छ।
    एकताका बाँध रहेको सडकखण्डबाट ट्याक्टर, मोटरसाइकल, साइकल गुड्ने गरेको थियो तर अहिले मानिस मात्र हिंड्डुल गर्न सक्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here