प्रस, वीरगंज, २२ भदौ/
नारायणी अस्पतालमा चिकित्सकहरूको लापर्बाहीको कारण आइतवार राति एकजना युवकको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्।
सोमवार घटनाको छानबीनको माग राख्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङसँग पीडित परिवारजनले भेट गरी घटनाबारे जानकारी गराएका थिए।
बारा, कोल्हवी नगरपालिका–४ सपही निवासी २२ वर्षीय विक्रम चौधरीलाई श्वास फेर्न समस्या भएपछि नेशनल मेडिकल कलेजमा शनिवार राति भर्ना गरिएको थियो। सो अस्पतालले पिसिआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाएको बेला उनको मृत्यु भएको थियो।
बिहान ११ बजे पिसिआर परीक्षणको लागि स्वाब नमूना दिन आएका चौधरीलाई रातिसम्म कसैले उपचार नगरेको मृतकका दाइ अनिल चौधरीले आरोप लगाए। पिसिआरको रिपोर्ट नआएसम्म कुनै स्वास्थ्यकर्मीले उपचार गर्न नमानेको परिवारजनको आरोप छ।
चौधरीको नेगेटिभ रिपोर्ट आउँदासम्म मृत्यु भइसकेको थियो। राति ८ बजे चौधरीको नारायणी अस्पतालमा अवस्था बिगँ्रदै गएपछि चिकित्सक नआउँदा परिवारजनले राति आफैं अक्सिजन सिलिन्डर ल्याइ अक्सिजन दिएको मृतकका दाइ अनिलले बताए।
प्रजिअ तामाङले घटनामा दोषी देखिएका चिकित्सकलाई कारबाई गर्ने प्रतिबद्धता जनाएको चौधरीले सञ्चारकर्मीलाई जानकारी गराएका छन्।
पिसिआर रिपोर्टमा गम्भीर त्रुटि
भदौ २१ गते दिएको अर्जेन्ट पिसिआर रिपोर्टमा स्वाब सङ्कलनको मिति भदौ २३ गते लेखिएको छ।
नेगेटिभ रिपोर्ट आए पनि नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले चौधरीको मृत्यु कोरोना सङ्क्रमणबाट भएको सञ्चारकर्मीहरूलाई जानकारी दिए।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सञ्चारकर्मीहरूको लागि बनाएको ह्वाट्सएप गु्रपमा आज बिहान १० बजे चौधरीको मृत्यु भएको पुष्टि गरेको थियो। नारायणी अस्पतालको तथ्याङ्क दिने अधिकारी डा चौरसियाले भदौ २१ गते चौधरी अस्पताल भर्ना भएको तथा राति मृत्यु भएको बताए पनि भदौ २३ गते स्वाब कसरी सङ्कलन भयो भन्दै परिवारजनले प्रश्न गरेका छन्।