प्रस, रौतहट, २२ भदौ/
प्रदेश सरकारबाट प्राप्त राहत बौधीमाई नगरपालिका–६ वडा कार्यालयले वितरण नगर्दा कुहिएको छ।
प्रदेश सरकारले घरेलु तथा साना उद्योग कार्यालय गौरमा पठाएको राहत सो कार्यालयले बौधीमाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले मातहतका वडा कार्यालयहरूमा पठाएको राहतमध्ये वडा नं. ६ मा वितरण गर्दा विवाद भएपछि वडामा थन्काएर राखिएको थियो। अतिविपन्न, विपन्न, गरीब, दलित, अपाङ्ग, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई वितरणको लागि पठाइएको राहत प्याकेज वितरणमा विवाद भएको थियो।
हुनेखाने धनीले पनि राहत माग गरेपछि वडा कार्यालयले सर्वदलीय बैठक बसाएको थियो। सो बैठकले थप २ सय परिवारका लागि राहत माग गरेको थियो। तर राहत नआएको कारण ६५ परिवारका लागि प्रदेश सरकारले पठाएको राहत वितरण हुन सकेन। वडाध्यक्ष हृदयनारायण यादवले राहत वितरणमा विवाद भएपछि वडा कार्यालयमा राखिएको बताए। उनले लक्षित वर्ग, अतिविपन्न, विपन्न, गरीब, दलित, अपाङ्ग, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई वितरण गर्न खोज्दा राजनीतिक अवरोध सृजना गरिएकोले वितरण हुन नसकेको बताए।
स्थानीय नेकपाका नेता जमील अख्तर देवानले राहत वितरण नहुँदा कुहिएको र वडा कार्यालयबाट हिंड्दा डुङ्डुङ गन्हाउने गरेको बताए। उनले वडा कार्यालयबाट जाँदा नाक थुन्नुपर्ने अवस्था भएको बताएका छन्। तोकिएको राहत लक्षित वर्गलाई वितरण गर्न नसक्नु वडा कार्यालयको कमजोरी भएको उनले बताए।