नगरपालिकाको मापदण्ड पालना भएन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २२ भदौ/
    भदौ १४ गतेदेखि खुला भएको पोखरिया बजार सञ्चालनको लागि नगरपालिकाले बनाएको मापदण्डको पालना भएको छैन।
    जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १४ गतेदेखि निषेधाज्ञा हटाए पनि पोखरिया नगरपालिकाले केही मापदण्ड बनाएर जोर–बिजोर दिनमा पसल सञ्चालनको निर्देशन जारी गरेको थियो। निर्देशनको पालना एक दिन पनि भएन। पोखरिया नगरपालिकाले खाद्य, दूध, ग्यास, तरकारी, फलफूल बिहान ५ देखि ९ बजेसम्म, रेडिमेड कपडा, इलेक्ट्रोनिक, कस्मेटिक पसलहरू बिहान ११ देखि अपराह्न ४ बजेसम्म जोर दिनमा र हार्डवेयर, साइकल, मोटरसाइकल, वर्कशप, पाट्र्स पसल, भाडाबर्तन, सुनचाँदी, फर्निचर पसल बिजोर दिनमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरेको थियो।
    यसैगरी, होटल, चियापसल, सैलुन, मठमन्दिर, मस्जिद र सबैखाले सवारीसाधनको सञ्चालन पूर्णरूपमा बन्द गरेको थियो। पोखरिया नगरपालिकाले जारी गरेको यो निर्देशन एक दिन पनि टिकेन। अहिले पोखरिया नगरपालिकामा सबैखाले पसल मनमौजी तरीकाले खुल्ने र बन्द हुने गरेका छन्। समय र दिन निर्धारण गरिएका पसलहरूका साथै खोल्न निषेध गरिएका पसलहरू पनि अहिले सञ्चालनमा छन्। बिहानैदेखि सबैखाले पसलहरू खोल्ने गरिएको छ। सवारीसाधनमा मोटरसाइकल, साइकल निर्बाधरूपमा चलिरहेका छन्। नगरपालिकाले निर्देशन उल्लङ्घन गर्नेलाई कारबाई गर्ने चेतावनी दिएको थियो तर अहिलेसम्म अनुगमन, कारबाई गरिएको छैन। मनपर्दो तरीकाले पसल सञ्चालन हुँदा पनि कारबाई नभएपछि पसलेहरूको मनोबल बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस