प्रस, वीरगंज, २२ भदौ/
वीरगंजमा थप एकजना सङ्क्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा वीरगंज– ३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।
अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार भदौ १५ गते नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई थप उपचारको लागि वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रेफर गरिएको थियो।
मधुमेह, उच्च रक्तचाप, दम र मिर्गौलारोगीसमेत रहेका सङ्क्रमितको वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा चारपटक डायलसिस गरेर आइसियूमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो।
योसँगै वीरगंजमा पर्साका ४२, बाराका १२, रौतहटका ४ र सर्लाहीका १ गरी कुल ५९ जनाको मृत्यु भइसकेको छ। पर्साका ४२ जनामध्ये दुईजना भारतीय नागरिक वीरगंजमा उद्योग–व्यवसाय गरिरहेका थिए भने दुर्ईजनाको पहिचान खुल्न सकेको छैन।