सर्लाही, २२ भदौ/रासस
    किसानले उखु बिक्री गरेबापत करीब रु २४ करोड अझै भुक्तानी नपाएको पाइएको छ।
    जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनीमिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ। उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुर्ई महीनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो। पुस १८ गते सम्झौता भएपछि केही उद्योगले भुक्तानी शुरू गरे पनि अन्नपूर्ण चिनीमिलले दिएको छैन।
    पटक–पटक सङ्घर्ष गर्दा पनि सो उद्योगले उखु बेचेका किसानको तीन/चार वर्षदेखिको भुक्तानी अझैसम्म नगरेको किसानको गुनासो छ। लामो समयसम्म बक्यौता रकम भुक्तानी नभएपछि अब आशा गर्न छाडेको धनकौल गाउँपालिका महिनाथपुरका किसान रामप्रताप महतोले बताए। आफूहरू काठमाडौं गएर धर्नामा बस्दा किसानको भुक्तानी दिलाउन केही चासो देखाए जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको उनको आरोप छ।
    विश्वव्यापी महामारी कोरोना भाइरसविरूद्ध सरकारले जारी गरेको निषेधाज्ञाका कारण अन्य काम पनि रोकिएका छन्। उखुको भुक्तानी आउला र घर व्यवहार चलाउने भन्ने आस गरेका सो क्षेत्रका किसान अहिले निराश भएका छन्।
    विगतका वर्षको भुक्तानी दिन नसकेर गत वर्ष मुख्य सिजनमा पनि अन्नपूर्ण चिनीमिल सञ्चालन हुन सकेन।
    जति प्रयास गर्दा पनि भुक्तानी नदिएर ती उद्योगले किसानलाई निराश बनाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए। अध्यक्ष मैनालीका अनुसार उद्योगले तीन/चार वर्षदेखिको करीब रु २४ करोड रकम उखु उत्पादक किसानको भुक्तानी गर्न बाँकी रहेको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here