जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ

काठमाडौं, २२ भदौ/रासस
    ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत आइतवार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरे। सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए। यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ।  
    टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। १४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरूको प्रदर्शन निराशाजनक रह्यो। जेमेन ब्ल्याकवुडले २५ तथा निकोलास किटोनले पनि २५ रनको योगदान दिए। बलिङतर्फ जाहिर खान र जेवलिन ग्लेनले तीन/तीन तथा केसरिक विलियम्सले एक विकेट लिए।
    यसअघि प्रारम्भमा ब्याटिङ गर्न पुगेको सेन्ट लुसियाका लागि नजिबुल्लाह जादरानले ३५, रहकेस कार्नवालले ३२, रोसटोन चेसले ३२ तथा मार्क दयालले १३ रन बनाए।
    बलिङतर्फ जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिएका हुन्। सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए। सन्दीपले हालसम्म १० खेलमा १२ विकेट लिएका छन्। यस्तै, जमैकाका लागि सेन्ट लुसियासितको खेलमा मुजिब–उर–रहमानले २, फिडेल इडवार्ड, भिरासम्मी प्रेमउल, कार्लाेस ब्रेथवाइटले एक/एक विकेट लिए।
    जमैकाले अब सेमिफाइनल खेल मङ्गलवार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्