कोरोनाको महामारी वा भोकमरी

121

– डा मीरा शाह
    अहिले कोरोनाको महामारीले सबै ठाउँका मानिसलाई क्षति पु–याएको छ। हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा त झन् कति नराम्रो असर परेकोे होला अनुमान पनि लगाउन सकिन्न। हुनेखानेलाई त अप्ठ्यारो पर्न थाल्यो भने दैनिक जीविकोपार्जन गर्ने, ज्याला मजदूरी गर्ने, अतिविपन्न वर्ग र निम्न वर्गीय परिवारको अवस्था कस्तो भएको होला, यसको अनुमान कसले र कसरी लगाउने ? यी कुरा सम्झँदा पनि मन भाउन्न हुन्छ। कतिपय ठाउँमा कामबाट निकालिएका छन्, अहिले काममा नआउनू भनिंदै छ। बेकार घरमा बस्नुपर्ने बाध्यता छ। यिनीहरूको व्यथा कसले पो बुझ्ने होला। अहिले सबैभन्दा बढी समस्या वा जोखिम ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, पाँच वर्षमुनिका बालबालिकालाई परेको छ। जबकि यिनीहरूलाई बढी पोषिलो खानेकुरा आवश्यक हुन्छ। यिनीहरूको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बढी पोषिलो खानेकुरा चाहिन्छ। पौष्टिक खाना र रोग प्रतिरोधक शक्ति एकअर्कासँग गाँसिएको हुन्छ। सुपोषित व्यक्तिमा रोगसँग लड्ने क्षमता बढी हुन्छ भने कुपोषितमा कम हुन्छ। अझै कुनै रोग लागेको व्यक्ति छ भने उसलाई मृत्युको उच्च जोखिम हुने विभिन्न अनुसन्धानले देखाएको छ। अहिले कोरोना विश्वव्यापी महामारीको रूपमा व्याप्त छ। चैतदेखि शुरू भएको यो क्रम रोकिएको छैन र कहिलेसम्म चल्ने हो ठेकान पनि छैन। यो महामारी अति विपन्न, दलित, बिरामी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किशोरीहरूका लागि बढी जोखिमपूर्ण देखिएको छ।
    अहिले नेपाल सरकार, गृह मन्त्रालय, पोषणसँग आबद्ध सङ्घसंस्थाहरू एकजुट भई भोकमरीमा परेकालाई आआफ्नो तवरले सहयोग गर्नु नितान्त आवश्यक देखिएको छ। राष्ट्रिय योजना आयोग अनुसार यस महामारीको प्रभावले गरीबी एक प्रतिशत बिन्दुले बढ्ने अनुमान छ। हाम्रो देशको १८.७ प्रतिशत गरीबीको रेखामुनि रहेको जनसङ्ख्या एक प्रतिशतले बढ्नु भनेको २१ हजार २५४ जना नेपाली गरीबीको रेखामुनि धकेलिनु हो। यस अवस्थाबाट माथि उक्लन नेपाल सरकार र विभिन्न निकायले सक्दो सहयोग पु–याउनु आवश्यक छ। खाद्य सुरक्षामन्त्री यमुना घलेले कृषिमा बढी जोड दिए गरीबीबाट निकास पाउने बताएकी छन्। अहिले प्रदेश नं २ र ६ गरीबी, भोकमरीको उच्च जोखिममा छन्। प्रदेश २ सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेश हो। यहाँ कुपोषणको दर पनि उच्च छ। अहिले पनि १४.१ प्रतिशत बालबालिका मात्र विद्यालय जान पाएका छन्।


    यहाँ मृत्युदर पनि उच्च छ। दाइजो प्रथा, बालविवाह, बोक्सी प्रथा, धनी र गरीबबीच असमानता पनि धेरै छ।  प्रधानमन्त्रीको सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले नागरिकको आत्मसम्मान र कोही भोकै नबसून्जस्ता कुरा सपनामा पनि पूरा हुन सक्ने अवस्था छैन। कोरोनाको कहरले आज मृत्युभन्दा भोकसँग लड्न फेरि नेपालीहरू विदेश जाँदै गरेकोे कुरा समाचारपत्रहरूमा उल्लेख गरिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारको तथ्याङ्क अनुसार गत फागुनमा सुदूरपश्चिममा विभिन्न नाका भएर साढे दुई लाखभन्दा बढी नेपाली भारतबाट स्वदेश  फर्केका थिए। चार महीना गाउँमा बस्दा पेट पाल्न गा–हो भएपछि फेरि भारत फर्कनुपर्ने बाध्यात्मक स्थिति आएको छ। दुई सातायतादेखि भारत फर्कनेहरूको ताँती लाग्न थालेको छ। उनीहरू भन्छन् नेपालमा बसेर के खाने ? मरे उतै मरौंला, यता न काम छ, न भोजन। जीवन कसरी धान्ने ?
कम पोषक तत्व
    अहिले महामारीले कुपोषण धेरै बढेको छ। आजीविका नभएकाले घरबाहिर गएर काम गर्न पाएका छैनन्, एक छाक टार्न धौधौ परेको छ, जसले गर्दा शारीरिक दुर्बलता, कमजोरी आदि देखिएको छ। जसको एकमात्र कारण कुपोषण हो।
    लामो समयसम्म उमेर अनुसार तौल कम हुनुमा पोषक तत्वको कमी हो। यो खासगरी बालबालिकामा हुन्छ। उमेर अनुसार कम तौल हुँदा बच्चा ख्याउटे, उचाइ अनुसार तौल कम भए पुड्को हुनुजस्ता समस्या पोषिलो खानेकुराको कमीले हुने हो। यसमा उच्च क्यालोरी, प्रोटिनजस्ता पोषक तत्वको कमीले विभिन्न रोग जस्तो क्वसिवर्कर, मरास्मस् आदि लाग्ने गर्दछ। यसमा पोषिलो खानेकुराहरू अन्न, दाल, दूध, दलहन, दही, मोही, अन्डा, भटमास, केराउ आदि खाने गर्नुपर्छ।
बढी पोषक तत्व (मोटोपन)

    अहिले कोरोनाले गर्दा घरमा बसेपछि तौल बढ्नु स्वाभाविक हो। निष्क्रिय जीवनशैली र शारीरिक व्यायामको कमीले तौल बढ्ने गर्दछ। दिनभरि बसीबसी मोबाइल, ल्यापटप, टेलिभिजन आदिको अत्यधिक प्रयोगले पनि मोटोपनको उच्च जोखिम बढेको छ। उचाइ अनुसार बढी तौल भएमा बडी–मास इन्डेक्सबाट मापन गरिन्छ। तौल किलोमा र उचाइ मिटरमा रूपान्तरित गरेर मापन गर्न सकिन्छ। मोटोपन
पनि कुपोषण नै हो, जसले विभिन्न नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौलारोग, थाइराइड,  क्यान्सर आदि हुने गर्छ। कोरोनाको भयावहतासम्बन्धी विभिन्न समाचारले पनि नकारात्मक सोच बढी हुन थालेको अनुसन्धानले देखाएको छ।
सूक्ष्म पोषक तत्वको कमी

    हाम्रो खानामा खनिज तत्व, लौह तत्व, भिटामिन थोरै चाहिने भएपनि धेरै मानिसमा यसको कमी देखिएको छ। किशोरीहरूमा रक्त अल्पता,  आयोडिनको कमीले गलगाँड आदि देखिन्छ। यसले शारीरिक, मानसिक र बौद्धिक विकासमा कमी आउँछ। जिङ्क, फोलिक एसिडको कमीले गर्भपतन, भिटामिन ‘डि’को कमीले एस्टिओपोरोसिस  (हाड खिइने, भाँचिने), अपाङ्गता, रतन्धो आदि हुने सम्भावना हुन्छ। यसको स्रोतहरूमा दूध, दही, मोही, दाल, क्वाँटी, गेंडागुँडी, मस्यौरा, हरियो सागपात, तरकारी, फलफूल, तिल, आलस, ओखर, बदाम, सोयाबिन, टोफु आदिको प्रयोग गर्नुपर्छ।
केही उपयोगी सुझाव
    नियमित शारीरिक व्यायाम गर्ने, स्वस्थकर खानेकुरा खाने, सकारात्मक विचार राख्ने, मोबाइलबाट टाढा बस्ने, परिवारमा रमाइलो गर्ने, अर्गानिक तरकारी, फलफूल प्रयोग गर्ने, समयमा  सुत्ने–उठ्ने आदि गरौं।
(लेखिका पोषण विशेषज्ञ हुन्, कीर्तिपुर बर्न तथा  क्लेफ्ट अस्पताल, नेपाल नेशनल अस्पताल कलङ्की, मार्क इन्टरनेशनल किडनी सेन्टर)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्