प्रस, वीरगंज, २१ भदौ/
निषेधाज्ञाको ५२औं दिन आइतवार वीरगंज महानगरका पसलहरू सञ्चालनमा आएपछि चहलपहल बढेको छ।
निषेधाज्ञाको ५०औं दिन पहिलोचोटि शुक्रवार आंशिकरूपमा पसल सञ्चालन हुँदा खासै चहलपहल देखिएको थिएन। शुक्रवार मुख्य सडकको पश्चिमतर्फ र उत्तरतर्फका पसलहरू सञ्चालन भएका थिए। शनिवार सम्पूर्ण पसल बन्द रह्यो भने आइतवार ५२औं दिन पूर्वतर्फ र दक्षिणतर्फका पसलहरू सञ्चालनमा आएका छन्।
आइतवार सबैखाले पसल सञ्चालनमा आएपछि चहलपहल बढेको थियो। बिर्तादेखि पावरहाउस चोकसम्मका पसलमा आइतवार ग्राहकहरू प्रशस्त देखिए। सवारीसाधनहरू मोटरसाइकल, साइकल, ईरिक्शालगायत निजी तथा भाडाका हलुका सवारीसाधनहरू पनि गुडेका थिए। निषेधाज्ञा जारी रहेको कारण सवारीसाधन सञ्चालन खुला गरिएको छैन। सबैखाले पसल आलोपालो सञ्चालनमा ल्याए पनि सवारीसाधनहरूमा भने रोक लगाइएको छ। तर प्रहरी, ट्राफिक प्रहरीले आज पसलहरू सञ्चालन भएको र किनमेलका लागि मानिसहरू आवागमन गर्दा मोटरसाइकल, साइकलमा कडाइ गरेनन्। तोकिएको समयबाहेक सञ्चालित पसलहरू शुक्रवार अगावैदेखि प्रहरीले पक्राउ गर्ने र दण्ड जरिवाना गरेर छाड्ने कामलाई निरन्तरता दिंदै आएको छ।