वीरगंजका चारवटा पसललाई जरिवाना

प्रस, वीरगंज, २१ भदौ/
    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले सरोकारावाला कार्यालयहरूसँगको सहकार्यमा वीरगंज महानगरपालिकाका केही पसलमा अनुगमन गरी कारबाई गरेको छ।
    वीरगंज महानगर–९ पानगल्ली र रानीघाट क्षेत्रमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा वाणिज्यले अनुगमन गरी चार वटा पसललाई कारबाई गरेको हो। मूल्यसूची नराखेको, बिक्री बिल उपलब्ध नगराएको र म्याद नाघेका खाद्य पदार्थ सञ्चय गरी राखेको कसूरमा पानगल्लीमा रहेका सुत्रिता टे«डर्स एन्ड सप्लायर्सलाई रु ५० हजार, सोही ठाउँको न्यू सन्तोष जनरल स्टोर र जय पान पसल सेन्टर तथा रानीघाटमा रहेको न्यू हरिओम किरानापसललाई जनही रु २० हजार जरिवाना गरिएको वाणिज्य कार्यालयले जनाएको छ।
    वाणिज्य कार्यालयको टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २८ बमोजिम कसूर देखिएकाले जरिवाना गरिएको बताउँदै खाद्य वस्तुहरूको कालोबजारी तथा मूल्यवृद्धि नगरी बिक्री वितरण गर्न सम्बन्धित पसलेहरूलाई चेतावनीसमेत दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here