सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

0

काठमाडौं, २१ भदौ/रासस
सन्दीप लामिछाने विकेट लिन सफल भएपनि क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौं खेलमा पराजित भएको छ। ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिवार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो।
टस जितेर जमैकाले ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो। १६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पूरा ग–यो। बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए। यस्तै, जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए। बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक/एक विकेट लिए। किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए। उनले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थिए।
यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए। यस्तै आन्द्रे रसेलले ५४ रनको अर्धसतकीय पारी खेले। बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक/एक विकेट लिए।
सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एकमात्र खेल खेल्न बाँकी छ। जमैका यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। अङ्कतालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्नेछ। प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै आएका छन्। उनले हालसम्म नौ खेलमा ११ विकेट लिन सफल भएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here