अनलाइन शिक्षण र त्यसभित्रको अर्थ

0
314

– अनन्तकुमार लाल दास
    सम्पूर्ण विश्व अहिले एउटा वैश्विक सङ्क्रामक महामारीबाट जुधिरहेको छ वा त्यसबाट छुटकारा पाउने कोशिश गरिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन र राष्ट्रिय संस्थाहरू कोभिड–१९ बाट कसरी जोगिने भन्ने निर्देशन पटक–पटक विभिन्न माध्यमद्वारा प्रसारित गरिरहेका छन्। यस्तै बेला शिक्षाक्षेत्रमा संलग्न मानिसहरूको लागि नयाँ–नयाँ प्रश्न र चुनौती देखिएका छन्। यस बेला सम्पूर्ण शैक्षिकजगत् अनिश्चितकालका लागि बन्द भएको अवस्थामा ‘अनलाइन शिक्षण’ एउटा विकल्पको रूपमा अघि सरेको छ र तीव्र गतिले यसको विस्तार पनि भइरहेको छ। प्रस्तुत आलेखमा कक्षा, शिक्षणविधि, शिक्षाको भूमिका, शिक्षक–विद्यार्थी सम्बन्ध र उनीहरूबीच चलिरहेको अन्तत्र्रिmयाको माध्यमले यस विषयलाई बुझ्ने जमर्को गरिएको छ।
    हामीले कक्षालाई जुन रूपमा हेर्दै आएका छौं, त्यसको आज पनि शैक्षिक गतिविधिमा महत्वपूर्ण स्थान छ। हाम्रो मस्तिष्कमा पक्कै पनि कुनै विद्यालयको यस्तो चित्र वा व्यक्तिगत अनुभव होला, जहाँ पर्खाल छैन, ढोका छैन, बस्नको लागि बेन्च छैन, केटाकेटीहरू बोरामाथि पलेंटी कसेर रूख वा आकाशमुनि बसेका छन् र शिक्षक सानो कालोपाटीमा लेखेर उनीहरूलाई पढाइरहेका छन्। न्यूनस्तरको भए तापनि यस कक्षाले शिक्षक र विद्यार्थीबीच अन्तत्र्रिmया गर्ने वातावरण प्रदान गर्छ। विद्यार्थीहरूलाई परस्पर सम्बन्ध बनाउने मौका दिन्छ। शिक्षाको समाजशास्त्रले यस्तो कक्षालाई समाजको प्रतिविम्ब भन्छ। यो कक्षाले विद्यार्थीलाई भविष्यको भावी भूमिकाका लागि तयार गर्छ।


    यसलाई एउटा संस्था, ‘परिवार’बाट हिंडेर विद्यालय आएको पनि भन्न मिल्छ। यस यात्रालाई चाहे पैदल, साइकल वा बैलगाडाले तय गर्दा अनुभवको संसारको विस्तार पनि सँगसँगै हुँदै जान्छ। पहिचानको नयाँ बाटो भए तापनि हरेक दिन नयाँ–नयाँ अनुभव प्राप्त हुन्छ। लकडाउनको यस घडीमा यो प्रक्रिया पनि ठप्प भएको छ। यहींनिर एउटा प्रश्न उठ्छ, यस आपत्कालमा यस्ता कक्षाहरूलाई पुनर्भाषित गर्ने ?  इतिहासमा विद्यालयहरू यसरी अनिश्चितकालका लागि बन्द भएका थिए  कि हामी त्यसबाट केही सिक्न सकौं ? आज विद्यालयहरू बन्द छन्। यस स्थितिमा पनि पढाइको हानि नहोस् भनी कुनै विकल्प छ ? प्रश्न मात्र के हो भने जुन प्रकारको ‘विभेद’ यस सङ्क्रमणकालमा विद्यालय र कक्षामा देखिएको छ र गरिएको छ, के पहिले पनि यस्तो भएको छ ? यस बहसमा विभेदीकरणको प्रक्रियालाई पनि ध्यानमा राख्नुपर्छ। यो सङ्कट यस कारण पनि अभूतपूर्व छ, किनभने यसले ठूलो स्तरमा विद्यालय बन्द गर्न सरकारलाई विवश बनाएको छ।
    यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने हामी यस्तो कक्षाबारे कुरा उठान गर्न गइरहेका छौं, जुन लकडाउनका कारण अस्तित्वमा आएको छ। एकातिर सत्र समाप्त भएको अवस्था थिएन भने अर्कोतिर विद्यार्थीहरू परीक्षाको तयारीमा जुटेका थिए। शिक्षाको अधिकार अन्तर्गत कक्षा ८ र ९ का विद्यार्थीहरूको परीक्षा समाप्त भएको थियो भने नर्सरीदेखि कक्षा ७ सम्मको आधा मात्र परीक्षा सम्पन्न भएको थियो र कक्षा १०–१२ को परीक्षा बाँकी थियो। पछि बाँकी सबै परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कन र कक्षा १० को लागि कार्यविधि तयार गरी त्यसैलाई प्रमाणीकरण गरियो तर कक्षा ११–१२ को परीक्षा हालसम्म थाती छ। अब अर्को के प्रश्न उठेको छ भने प्रमोशन भएका विद्यार्थीहरूको लागि अर्को कक्षामा प्रवेशको प्रक्रिया के हुने ? पुरानो कक्षामा विद्यार्थी हिंडेर पनि विद्यालय पुग्थे, वर्तमान परिवेशले भने नयाँ–नयाँ प्रकारका कक्षाको निर्माण गरेको छ। यो शिक्षक र विद्यार्थीका लागि पनि त्यतिकै नयाँ छ। यस कक्षामा शिक्षक र विद्यार्थी दुवैको प्रवेश प्रविधिमा आश्रित छ। यसको अनुवाद सही अर्थमा कम्प्युटर, स्मार्ट फोन, लैपटप र टैबलेट आदिबाट मात्र सम्भव छ। यिनै यन्त्रहरूले अनलाइन शिक्षणलाई सम्भव बनाउँछ।
    सुन्दा यो धेरै सजिलो लाग्छ कि शिक्षक र विद्यार्थी दुवै ‘ग्याजेट’को प्रयोगले यस प्रक्रियामा सहभागी हुन सक्छन्। शिक्षक ‘गुगल कक्षाकोठा’मा योजना अनुसार विद्यार्थीहरूलाई पाठ्य–सामग्री पठाउँछन्। ‘जूम मिटिङ’मा सुविधा अनुसार पूर्वनिर्धारित समयमा भिडियो कक्षा लिन सक्छन्। यस प्रविधिमा जब एउटा शिक्षकको रूपमा स्वयम्लाई राखेर विचार गर्छु, त्यस बेला केही नौलो विषमता र समस्या जन्मेको पाउँछु। सबैभन्दा ठूलो प्रश्न यस नयाँ कक्षामा ‘प्रवेश’लाई लिएर तेर्सिन्छ। हामी सबैलाई राम्ररी थाहा छ, बहुसङ्ख्यक विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन्। यो उनीहरूको लागि छनोटको प्रश्न हो वा विवशताको ? यो पनि प्रस्ट छ। उनीहरू जुन परिवारबाट आउँछन्, त्यहाँ यस प्रकारको कक्षामा सामेल हुनको लागि धेरै कठिनाईको सामना गर्नुपर्छ।
    यस्तो कक्षामा विद्यार्थीहरूको प्रवेश धेरै जटिल प्रक्रिया हो, चाहे त्यो अति सामान्य मोबाइल यन्त्रबाट हुन सक्ने किन नहोस् १ त्यसलाई प्रयोग गर्ने प्रविधिगत ज्ञान र सीप विद्यार्थीमा हुनु अनिवार्य शर्त हो। सबैभन्दा पहिले एउटा स्मार्ट फोन उपलब्ध गर्न नै विकट परिस्थितिको सामना गर्नुपर्छ। यदि त्यो घरमा उपलब्ध छ भने त्यसमा कसको नियन्त्रण छ। यदि दुई–तीन जना भाइबहिनीहरू छन् भने कसले उपयोग गर्ने ? एकै समयमा कक्षा सञ्चालन हुन्छ भने समस्या झन् बाक्लिन्छ। यदि समय बाँडेर समस्याको समाधान गरियो भने ‘इन्टरनेट’को अर्को समस्या देखिन थाल्छ। यदि परिवार आर्थिक सङ्कटमा छ भने यो सम्भव नै हुँदैन।
    अर्को ध्यान दिनुपर्ने कुरा के हो भने यो नयाँ कक्षा विद्यालयबाट निस्केर विद्यार्थीको घरमा स्थानान्तरित भएको छ किनभने सरकारी निर्देशनको पालना गर्दै सबैले घरमैं बस्नु छ। के घरको वातावरण एउटा मोबाइलको माध्यमले कक्षामा परिवर्तन गर्न सकिन्छ ? के घरको परिवेशमा विद्यार्थीहरूलाई कक्षाको अनुभूति हुन्छ ? शिक्षकको पढाइलाई विद्यार्थीहरूले कसरी ग्रहण गरिरहेका छन् भन्ने कुरासँग के शिक्षक जानकार हुन्छन् ? यस नयाँ कक्षाले हाम्रो सम्बन्ध कस्तो बन्छ भन्ने कुरा लामो समयपछि मात्र थाहा हुन्छ। विद्यालयीय कक्षा त्यो ठाउँ हो, जहाँ शिक्षक र विद्यार्थी प्रतिदिन शैक्षिक गतिविधिमा संलग्न हुन्छन्। वर्तमानमा जसरी यो नयाँ कक्षा अघि सरेको छ, त्यहाँ यस प्रकारको अवसर कसरी स्थापित हुन्छ ? घरमा बन्द भएर लगातार काम गरिराख्दा शिक्षकहरूको क्षमता र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव परिरहेको छ ? उनीहरूलाई कस्तो समस्या र चुनौतीको सामना गर्नुपरिरहेको छ ? यस्ता प्रश्न पनि चर्चाको केन्द्रमा ल्याउनुपर्ने हुन्छ।
    एकजना शिक्षकको भनाइ अनुसार यो नयाँ कक्षा–व्यवस्थालाई स्वीकार गर्नु धेरै अप्ठेरो भइरहेको छ। जुन कक्षामा विद्यार्थी उपस्थित छैनन्, त्यहाँ एउटा विषमताको जन्म हुन्छ। सिकाइको जुन प्रक्रिया विषमतामा आधारित हुन्छ, त्यसले कस्तो व्यवस्था जन्माउँछ र पोषित गर्छ ? कुनै पाठ एकसाथ पढ्नु र बेग्लाबेग्लै पढ्नुले पनि विषमता नै सिर्जना हुन्छ। यहाँ सबैले समानरूपले पाठ पढे होलान् भन्न गा–हो छ। ती शिक्षकले ‘जूम एप्लिकेशन’बाट पनि कक्षा लिने प्रयास गरे, तर विषम सामाजिक–आर्थिक पृष्ठभूमिबाट आउने विद्यार्थीहरूको लागि उपयोगी साबित भएन। कक्षाबीच यदि कसैको फोन आउँछ भने त्यस परिस्थितिमा त्यस कक्षाको कुनै अर्थ रहँदैन। के एउटै कक्षामा दिनभरिको ‘डाटा’ खर्च गर्न सकिन्छ ? यी सबै कुराबीच अभिभावकहरूले सन्तानमा
परिरहेको प्रभावबारे फोन गरेर पछि विद्यालय खुलेपछि विद्यार्थीमा मोबाइलको लत लागिसक्ने हुँदा पछिको अध्ययनमा असर पर्ने कुरा औंल्याए। यदि शिक्षा परिवर्तनको वाहक हो भने यान्त्रिक प्रक्रियामा आश्रित हुनुको प्रभाव विद्यार्थीमाथि कस्तो पर्ला भन्ने  समस्यातिर तिनले सङ्केत गरे।
    यदि गहिरिएर अवलोकन गर्ने हो भने विद्यालय व्यवस्थाको विस्तार भएको हामी पाउँछौं तर धेरै कुरा अहिले पनि गौण छ। जस्तै मधेस आन्दोलनको शिक्षामाथि के असर प–यो ? हाम्रो देशमा हरेक वर्ष कुनै न कुनै यस्तो घटना भइरहन्छ, जसबाट शिक्षा प्रभावित हुन्छ, त्यो कहिले पनि चर्चाको विषय बन्दैन। जस्तै बाढीको कारण पुल भत्किंदा विद्यार्थीहरूलाई विद्यालय पुग्न कस्तो कठिनाई भोग्नुपर्छ ? कुनै आपदाका कारण जुन सम्पर्क र सम्बन्ध विच्छेद हुन्छ, त्यसको अनुवाद कहिले पनि यसरी गरिएन, जसरी वर्तमान परिदृश्यमा हामी गरिरहेका छौं। पढाइ र सत्रको नोक्सान त्यस बेला पनि त्यतिकै भएको थियो। विद्यार्थी विद्यालयबाट टाढा बस्नुलाई आज ठूलो समस्याको रूपमा देखिएको छ। हरेक आपदा र आकस्मिक घटनापछि शैक्षिक गतिविधिमाथि परेको समस्याबारे यसैगरी छलफल गर्नुपर्ने थिएन र ?
    जुन प्रविधिबाट हामी अहिले नयाँ कक्षाको निर्माण गरिरहेका छौं, त्यसले समता, समानता र विविधताजस्ता पक्षलाई कसरी समावेश गर्छ ? आफैंले बनाएको विषमता, समस्या र विसङ्गति कसरी स्वयम्बाट टाढा राख्न सकिन्छ ? स्थिति सामान्य भएपछि एक प्रकारको भय र अनिश्चितताको माहोल चारैतिर हुन्छ। त्यसमा शिक्षक र विद्यार्थीसँग कस्तो अपेक्षा गरिन्छ ? यस परिस्थितिको हाम्रो शैक्षिक प्रक्रियामाथि कति दूरगामी प्रभाव पर्नेछ, अनुमान लगाउन सम्भव छैन। यस वैश्विक महामारीको समाप्तिपछि पनि यसको असर र प्रभाव लामो समयसम्म शिक्षा व्यवस्था, शिक्षक, विद्यार्थी, पाठ्यक्रम, पाठ्यपुस्तक, प्रविधि आदिमा रहिरहनेछ। आज हामीमा शैक्षिक संरचनालाई कसरी पुनर्गठित गर्न सकिन्छ भन्ने अनभिज्ञता छ। हामीसँग यस्ता प्रश्नहरूको सम्भावित जवाफ हुनुपर्छ। आज आकस्मिक सङ्कटबाट जुध्ने क्षमता र साधनसम्पन्न हुनुपर्ने महसूस गरिएको छ। हामी सबैले व्यवस्थित भएर नवनिर्मित यस शैक्षिक संरचनाबारे सोच्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here