पटेर्वासुगौलीका स्वास्थ्य चौकी/केन्द्रको छड्के

प्रमोद यादव, पंचगावाँ, २० भदौ/
    पटेर्वासुगौलीमा रहेका स्वास्थ्य चौकी, केन्द्रबाट सेवा प्रवाह नभएको भन्ने स्थानीयको गुनासोपछि गाउँपालिकाले छड्के जाँच गरेको छ।
    निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, स्वास्थ्य संयोजक जगरनाथ साह, प्राविधिक रामबाबू रायलगायतको टोलीले स्वास्थ्य चौकीहरूमा छड्के जाँच गरेका थिए। छड्केको क्रममा निचुटा स्वास्थ्य चौकीका अहेब उदय साह १५ दिनदेखि विनासूचना अनुपस्थित रहेको पाइयो।
    यसैगरी, स्वास्थ्य चौकी सोनवर्षाका अहेब लालबाबू साह पनि १८ दिनदेखि विनासूचना अनुपस्थित देखिए। गादी स्वास्थ्य चौकीका अहेब रेयाज अन्सारी र सन्तोष चौधरीको हाजिरी देखिए पनि स्वास्थ्य चौकीमा अनुपस्थित थिए। उनीहरू निजी क्लिनिकमा कार्यरत रहेको स्थानीयको आरोप छ। हाजिरी गरेर निजी क्लिनिक चलाउने गरेकाले स्वास्थ्य चौकीमा उनीहरूको उपस्थिति सदैव नरहने गरेको स्थानीयले आरोप लगाएका छन्।
    गादी, निचुटा, पटेर्वा स्वास्थ्य चौकीहरूमा साउन १ देखि १९ गतेसम्म ६५ जना महिलाको सामान्य प्रसूति भएको तथ्याङ्क छ। सरकारले उपलब्ध गराएको यातायातबापतको रकम उनीहरूले तत्काल पाउनुपर्नेमा चार महीनापछि मात्र पाउने गरेको सेवाग्राहीहरूले गुनासो गरे। स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरू नियमित नबस्ने गरेको पाइएको थियो।
    यसैगरी, दीर्घरोगीका बिरामीहरूलाई औषधि उपलब्ध नभएको छड्के जाँचमा देखियो। निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णले दीर्घरोगी, उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीहरूको औषधि अभाव रहेको बताए। पटेर्वासुगौली स्वास्थ्य शाखा प्रमुख जगरनाथ साहले एक साताभित्र माग अनुसारको औषधि स्वास्थ्य चौकी, केन्द्रहरूमा पठाउने आश्वासन दिएका छन्। बिरामीहरूलाई आवश्यकताभन्दा बढी औषधि उपलब्ध गराउने गरेको छड्केको क्रममा पाइयो। यही कारणले पनि औषधि अभाव भएको अनुमान गरिएको छ।
    औषधि वितरण गरिएको विवरण पनि स्वास्थ्य चौकीहरूमा दुरुस्त देखिएको थिएन। निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले स्वास्थ्य चौकीमा देखिएका सबैखाले विकृतिहरूलाई क्रमिकरूपमा सुधार गर्ने बताए। उनले गुनासो गर्न स्थानीयलाई आग्रह गरे। सूचनाविना सुधार नहुने भएकोले सबैखाले सूचना उपलब्ध गराएर सहयोग गर्न उनले अनुरोध गरे। प्राप्त सूचनाको आधारमा विकृतिहरूलाई न्यूनीकरण गर्ने उनले आश्वासन दिए। सरसफाइ, औषधिमूलो र बिरामीहरूको समस्या बुझ्ने र समाधान गर्नेतर्फ आफ्नो इमानदार प्रयास रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।
    टोलीले निचुटा, गादी, सोनवर्षालगायतका स्वास्थ्य चौकीहरूको अनुगमन गरेको थियो।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्