नदीजन्य पदार्थको अवैध तस्करी

बलिराम शुक्ला, बिरुवागुठी, २० भदौ/
    पर्सागढी नगरपालिका अन्तर्गतका खोलाहरूबाट अवैधरूपमा नदीजन्य पदार्थको तस्करी भइरहेको छ। पर्सा जिल्लाभरिका खोलाहरूको स्थानीय निकायले टेन्डर आह्वान नगर्दा पर्सागढी नगरपालिका अन्तर्गतका कर्जहनिया र सिङ्गाही खोलाबाट दिनहुँ दर्जनौं ट्याक्टरबाट अवैधरूपमा गिट्टी, बालुवा, ढुङ्गाको चोरी तस्करी भइरहेको छ।
    सबडिभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतिवनटाँडी रेन्जपोस्ट, मनवा रेन्जपोस्टका वन कर्मचारीहरूलाई तस्करहरूले आर्थिक प्रलोभनमा पारी वन कार्यालयको गेटअगाडिबाट नदीजन्य पदार्थको तस्करी भइरहेको स्थानीयवासीले बताए। खोलाबाट ट्याक्टरमा गिट्टी, बालुवा लोड गरी वन कार्यालयको गेटअगाडिबाट दिनहुँ दर्जनौं ट्याक्टरबाट चोरी तस्करी हुँदा पनि वन सुरक्षा गस्तीहरूले पक्राउ गर्न नसकेको स्रोतले बताएको छ।
    स्रोतका अनुसार वन सुरक्षा गस्ती टोलीहरूलाई प्रतिट्याक्टर रु ५०० नजराना दिई गिट्टी, बालुवा र ढुङ्गाको तस्करी भइरहेको छ।
    जिल्ला वन कार्यालय, पर्साका निमित्त वन प्रमुख वशिष्ठनारायण कुर्मीले गिट्टी, बालुवा, ढुङ्गा रहेका खोलाहरू स्थानीय निकाय मातहत रहेकाले खोलाको संरक्षण गर्ने जिम्मेवारी जिल्ला समन्वय समिति र स्थानीय निकायको रहेको उनले बताए। वन कर्मचारीहरूले रकम असुली गरी तस्करीमा सघाइरहेको पाइएमा कारबाई गरिने उनले बताए।
    पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढा अनुसार गिट्टी, बालुवा, ढुङ्गाको तस्करी भइरहेको सूचना आफूलाई नआएको र यदि त्यस्तो भइरहेको भए जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई निगरानी र कडाइ गर्न निर्देशन दिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here