चार महीनाभित्र हुलाकी सडकले काम पूरा गर्छ –नेता बानियाँ

चिरञ्जीवी सापकोटा, ठोरी, २० भदौ/
    नेपाली काङ्ग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं नेपाली काङ्ग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँले ठोरीमा निर्माण भइरहेको हुलाकी सडकको स्थलगत निरीक्षण गरेका छन्।
    बानियाँ जेभीका ठेकेदार ऋषि बानियाँ तथा प्राविधिकसहितको टोलीका साथ बानियाँले पहिलोपटक स्थलगत अनुगमन गरेका हुन्। पूर्वगृहराज्यमन्त्रीसमेत रहेका बानियाँलाई ठोरीमा नेपाली काङ्ग्रेसले स्वागत गरेको थियो। हुलाकी सडकको अनुगमन तथा निरीक्षणपश्चात् नेपाली काङ्ग्रेसद्वारा आयोजित स्वागत कार्यक्रममा नेता बानियाँले आफू ठोरीको सडकको निरीक्षण र कामको प्रगतिबारेमा बुझ्न ठोरी आएको बताए। उनले ४ महीनाभित्र कार्य सम्पन्न हुने गरी कार्य भइरहेकाले स्थानीय तवरबाट आवश्यक पर्ने सहयोग गर्न आग्रह गरे।
    हुलाकी सडकले ठोरीवासीको स्तर वृद्धि हुने बताउँदै नेता बानियाँले ठोरीको भविष्य उज्ज्वल रहेको र ठोरी–केरुङ मार्ग पनि बन्ने विश्वास व्यक्त गरे। सानातिना कुरामा विवाद नगर्न आग्रह गर्दै ठेकेदार कम्पनीले गर्ने कार्यको भने निगरानी गर्नुपर्ने बताए। मूल उद्देश्य सडक निर्माण कार्य भएकोले सहायक कुराहरूमा ठेकेदार कम्पनीलाई नअड्काउन पनि नेता बानियाँले स्थानीयहरूलाई आग्रह गरे।
    नेका महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठले लामो समयपछि ठोरीवासीले विद्युत् र सडकको उपभोग गर्ने मौका पाएको बताउँदै हुलाकी सडकको कार्य गुणस्तरीय हुनुपर्नेमा जोड दिए।
    वडासदस्य एवं नेकाका नेता अमृतकृष्ण सापकोटाले आफ्नो वडाभित्र हुलाकी सडकबाहेक विकासका कार्यहरूमा पनि सहयोग पाउनेमा आफू आशावादी रहेको बताए। ठेकेदार कम्पनीको रूपमा मात्र आफूलाई प्रस्तुत नगरी समाजसेवाको भावनाले समेत निर्माण कम्पनीले कार्य गर्ने विश्वास व्यक्त गरे।
    नेपाली काङ्ग्रेस ठोरी वडा नं २ का सभापति रामकृष्ण पन्तको सभापतित्वमा सम्पन्न स्वागत कार्यक्रममा नेता बानियाँलाई महासमिति सदस्य श्रेष्ठले खाँदा ओडाएर स्वागत गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य नेपाली काङ्ग्रेस पर्साका सदस्य प्रकाश खनालले राखेका थिए भने ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले मन्तव्य र धन्यवाद मन्तव्य अर्जुन बस्नेतले राखेका थिए।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्