वीरगंज कलेजद्वारा अनलाइनमार्फत् प्रवेश परीक्षा

प्रस, वीरगंज, २० भदौ/
    वीरगंज कलेजले कक्षा ११ मा भर्नाका लागि अनलाइन माध्यमबाट प्रवेश परीक्षा लिएको छ।
    उपत्यकाबाहिर पहिलोपटक कक्षा ११ र १२ मा कानून र पत्रकारिता अध्यापन शुरू गरेको कलेजले नयाँ शैक्षिकसत्रमा भर्नाका लागि अनलाइन माध्यमबाट प्रवेश परीक्षा लिएको हो। शनिवार बिहान ८ बजेदेखि व्यवस्थापन सङ्काय कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा सम्पन्न भएको थियो। व्यावस्थापन सङ्कायमा ११९ जनाले अनलाइन माध्यमबाट प्रवेश परीक्षा दिएको कलेजका अध्यक्ष डा दीपेन्द्रकुमार चौधरीले जानकारी दिए।
    त्यसैगरी, शिक्षा, कानून र पत्रकारिता सङ्कायको अपराह्न ४ बजेदेखि अनलाइन प्रवेश परीक्षा लिइएको थियो।  कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरूमध्ये पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारको  व्यवस्था गरिएको कलेजले जनाएको छ। प्रवेश परीक्षामा पहिलो हुने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा भर्ना लिने, दोस्रो हुनेलाई पुस्तकालय शुल्क मात्रै लाग्ने र तेस्रो हुनेलाई पुस्तकालय र अतिरिक्त क्रियाकलाप शुल्क मात्रै लाग्ने कलेजले जनाएको छ।
    त्यसैगरी, कक्षा ११ को पहिलो त्रैमासिक परीक्षामा प्रथम हुने विद्यार्थीलाई रु ५ हजार नगद, द्वितीय हुनेलाई तीन हजार र तृतीय हुने विद्यार्थीलाई २ हजार नगद पुरस्कार प्रोत्साहनस्वरूप प्रदान गरिने कलेजका प्रमुख विनोद गुप्ताले बताए। प्रवेश परीक्षा दिएका विद्यार्थीहरूको कक्षा २०७७ असोज १ गतेबाट अनलाइन माध्यमबाट हुने कलेजले जनाएको छ।
    वीरगंज कलेजले कलेजका सबै शिक्षक र कर्मचारीहरूको कोरोना बीमा र घरबाट अनलाइनमा पढाउनका लागि इन्टनेट खर्चको समेत व्यवस्था गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here