पचासौं दिन वीरगंज आंशिक खुल्यो

0
265

प्रस, वीरगंज, १९ भदौ/
    वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागू भएको पचास दिनपछि बजार आंशिकरूपमा खुलेको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १८ गते सूचना जारी गरी निषेधाज्ञा भदौ २५ गतेसम्म लम्ब्याउने निर्णय गर्नुका साथै आजदेखि आंशिक बजार खोल्ने निर्णय गरेको थियो।
    प्रशासनको निर्णय अनुसार आज पहिलो दिन मुख्य सडकको पश्चिमतर्फ र पूर्व–पश्चिम सडकको उत्तरतर्फका पसलहरू सञ्चालनमा आयो। पश्चिम र उत्तरतर्फका सबैखाले पसल सञ्चालनमा आएका कारण अन्य दिनको तुलनामा आज वीरगंजमा भीडभाड भएको थियो।
    यसअघि, लकडाउन खुकुलो भएपछि बजारमा देखिने भीड आज भएन। वीरगंज उद्योग वाणिज्य सङ्घले हिजोदेखि सवारीसाधनको प्रयोग नगरी तोकिएको समय र मापदण्ड पूरा गरी पसल सञ्चालन गर्न सूचना जारी गरेको थियो। आज पसल सञ्चालन भएका क्षेत्रमा मोटरसाइकलहरू पार्किङ गरिएकोमा ट्राफिक प्रहरीले हेलमेट नियन्त्रणमा लिएको थियो। ठूलो सङ्ख्यामा मोटरसाइकल बजारमा भएकाले नियन्त्रण गर्न नसकेको ट्राफिक प्रहरीले मोटरसाइकलमा रहेका हेलमेटहरू नियन्त्रणमा लिएको थियो।
    लामो समयपछि पसलहरू सञ्चालनमा आएपनि ग्राहकहरू थोरै मात्रामा थिए। सङ्क्रमण समुदायस्तरमा फैलिएको कारण अत्यावश्यक वस्तुहरूको खरीदमा मात्र मानिसहरूको रुचि देखियो। सामाजिक दूरी कायम गरेर मास्कको प्रयोग गर्दै पसलहरू सञ्चालनमा आएका र ग्राहकहरू पनि सोही अनुसार देखिएका थिए।
    शनिवार सबै पसल बन्द हुने र आइतवार मुख्य सडकको पूर्व तथा पूर्व–पश्चिम सडकको दक्षिणतर्फका पसलहरू सञ्चालन हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here