राधेश्याम पटेल, वीरगंज, १९ भदौ/
वीरगंजका विभिन्न निजी अस्पतलामा कार्यरत डेढ सय एमबिबिएस डाक्टरहरूको तलब सुविधाको सम्बन्धमा उठेको माग तत्काल सम्बोधन नभएकोले ‘काम रोक’ आन्दोलनमा उत्रने चेतावनी आएको छ।
दुई साता अघिदेखि वीरगंजका एमबिबिएस डाक्टर (मेडिकल अफिसरहरू)ले वीरगंजमा दबाबमूलक चरणबद्ध आन्दोलन गर्दै आएका छन्। निजी अस्पतालहरूले २० वर्षे पुरानो सेवा सुविधा दिएको तथा कोभिड १९ सङ्क्रमणको समयमा सरकारी अस्पतालमा राज्यले भत्ता बढाएको र कोभिड प्रतिरक्षात्मक सुरक्षा सामग्री उपलब्ध गराए तापनि निजी अस्पतालबाट एमबिबिएस डाक्टरको स्वास्थ्यसमेत जोखिममा राखिएकोले आन्दोलन शुरू गर्न बाध्य भएको मेडिकल अफिसर एसोसिएशन अफ वीरगंजले जनाएको छ।
मेडिकल अफिसरहरूको सेवा सुविधामा उठेको विवाद सल्टाउन बिहीवार नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगंजको सभाहलमा बिहान साढे १० बजेदखि भएको सरोकारवालाहरूको बैठकमा कुनै निष्कर्ष निस्कन नसकेकोले आन्दोलनको तयारीमा जुट्न छलफल भइरहेको एसोसिएशनका प्रवक्ता डा. तेजनाथ तिवारीले बताए।
बिहीवारको बैठकमा एसोसिएशनका पदाधिकारी, नेपाल चिकित्सक सङ्घ वीरगंज शाखाका डा. अरुणकुमार सिंह, सचिव डा.उदयनारायण सिंह, नेपाल चिकित्सक सङ्घका केन्द्रीय सहसचिव डा. नीरज सिंह, निजी अस्पताल महासङ्घ (अफिन) वीरगंजका अध्यक्ष तथा भवानी अस्पतालका सञ्चालक रामराज श्रेष्ठलगायतको सहभागिता थियो। तर निजी अस्पतालका सञ्चालकहरू मेडिकल अफिसर डाक्टरहरूको तलब बढाउन तथा अन्य सुविधाबारे गम्भीर नदेखिएकाले वार्ता निष्कर्षविहीन टुङ्गिएको बताइएको छ। मेडिकल अफिसरहरूले मासिक ६५ हजार तलब–भत्ता, पार्ट टाइमको प्रतिडियुटी २५ सय र राति ३ हजार दिनुपर्ने माग राखेका थिए। त्यसैगरी कोरोना बीमा, अस्पतालको छुट्टै आइसोलेशनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा काम गर्ने वातावरण बनाउन र कोभिड १९ सङ्क्रमणबाट प्रतिरक्षाका लागि चाहिने मास्क, ग्लोभ्स, पिपिआई, फेस–सिल्डको उचित प्रबन्ध मिलाउन पनि मागमा भनिएको छ।