मनुष्य–ऋण: पितृ, देव र ऋषि

122

– सञ्जय मित्र
    मनुष्यले जन्मजात ऋण नै मनुष्य–ऋण हो। ऋण लिने सन्दर्भले मात्र होइन, यो त जन्मसँगै आउने मान्यताले गर्दा कर्तव्य मान्न बढी सान्दर्भिक भन्न थालिएको छ। शास्त्र नमान्ने, अध्यात्मलाई केही नठान्ने तथा देवदेवीलाई नजान्नेहरूले पनि कर्तव्य भने पालना गर्दछन्। उचित समयको सही कर्तव्य पनि धर्म हो। यस धारणाका अनुयायीहरूले पनि कर्तव्यलाई सही अर्थमा बुझ्ने हो भने मनुष्यले जहाँ सही मूल्य र अर्थमा जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो, त्यसको इमानदारीपूर्वक वहन गर्दा पूर्वीय शास्त्रका ऋणहरू तिर्न सक्ने देखिन्छ।
    मनुष्य–ऋण जसरी लिइने होइन, त्यसैगरी तिर्न सकिने पनि होइन। यो जसरी आर्जन हुन्छ, त्यसरी नै भुक्तान पनि हुन्छ। यो भौतिकरूपमा लिएको ऋण होइन, त्यसरी नै भौतिकरूपमा तिरेको पनि ठान्नुहुन्न। कर्तव्य निर्वाह गर्नु, ऋण तिर्नु हो भन्ने मान्यता समाजमा थोरै भएपनि स्थापित छ। अझ ग्रामीण समुदायले यस कथ्यलाई बढी ग्रहण गरेको पाइन्छ।


    पितृ–ऋणमा दुई किसिमको विचार लुकेको छ। पितापुर्खा र धरती। पितापुर्खा भनेका आफ्ना पूर्वज हुन्। पूर्वजको परिभाषा सबैले बुझेका छन्। कतिपयले यसमा विवाद गरेर मातालाई वा मातृपक्षलाई समावेश नगरेको अथ्र्याउँछन्। तर त्यसो होइन। मातालाई पनि यसमा समाविष्ट गरिएको हुन्छ। अर्को धरतीलाई पनि जननीसित तुलना गरिएको पाइन्छ। धरती नै जननी होइन। तर माता जत्तिकै स्नेह वा सम्मान धरतीलाई पनि गर्नुपर्छ भन्ने निहितार्थ हो। आफू जन्मेको धरतीप्रति सदाकालदेखि स्नेह रहने गरेको पाइन्छ। यस कारण मनुष्यले धरतीका लागि पनि केही गर्नुपर्छ र धरतीको अपमान गर्नुहुन्न भनिएको छ। आमा, बुबा र धरतीको अपमान गर्नेले कतै पनि सम्मान पाउँदैन भन्ने मान्यता अद्यपर्यन्त समाजमा विद्यमान छ। मानिसमा जतिसुकै चेतना, विवेक र ज्ञान बढे पनि यस कुरामा कुनै विज्ञानले पनि असहमति जनाएको देखिएको छैन। बरु धरतीलाई माया गर्ने अनेक उपाय रहेको मान्यता सर्वत्र उपलब्ध छ।
    धरतीलाई कुन अर्थमा पनि मातासित तुलना गरिएको पाइन्छ भने जहाँबाट लडे पनि अन्तिममा मानिसको सहारा धरती नै हुन्छ। यसको अर्थ यो पनि हो कि धरतीले धारण गर्दछ। जननीलाई धारक र पितालाई पालक त्यसै भनिएको होइन। माताले आफ्ना सन्तानमाथि कुनै पनि समस्या नआओस् र जतिसुकै समस्या आए पनि आफैं त्यसको धारण गर्दछिन्। धारण गर्ने सोही गुणका कारण धरतीलाई धरणी पनि भनिएको हो। यही भएर देशलाई पनि माता भनिएको पाइन्छ। आफू जन्मेको ठाउँलाई मातृभूमि र जन्मदेशलाई मातृदेश भन्ने गरिएको पाइन्छ। जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि त्यसै भनिएको होइन। रामायण र महाभारतमा पनि धरतीको महत्वलाई सूत्रात्मकरूपमा गहनताका साथ अभिव्यक्त गरिएको पाइन्छ।
    कतिपयले देवतालाई पनि पितापुर्खा नै मानेका छन्। हाम्रा वरपर यस्ता अनेक दृष्टान्त पाइन्छ, जहाँ मानिसलाई नै देवताको रूपमा पूजा गरिन्छ, उसको मन्दिर बनाइन्छ। विगतमा मैले यसै स्तम्भमा प्रमाणसहित प्रस्तुत गरिसकेको छु, जसमा पुजिनेहरू मानिस थिए तर आफ्नो पुरुषार्थले उनीहरूले देवत्व प्राप्त गरेका थिए। यसलाई यदि आधार मान्ने हो भने विगतमा मानव कल्याणका लागि निस्स्वार्थ काम गर्ने, अरूको हितका खातिर त्याग गर्ने तथा समाजसेवामा आफूलाई समर्पित गर्नेहरू देवता कहलिएका छन्। यसबाट यो पनि अर्थ निस्कन्छ कि अहिले देवता कहलिएकाहरूले विगतमा हाम्रा पितापुर्खामाथि कुनै न कुनै किसिमले कल्याण गरेका छन् वा अहिले देवता कहलिएकाहरू नै हाम्रा पितापुर्खा  हुन् ? हामीले पाएका छौं– हाम्रो समाजमा अनेक लोकदेव तथा लोकदेवीहरू पनि रहेका छन्। सम्भवतः हामीले हाम्रा पितापुर्खाको सम्मान गर्नु पनि देवदेवीहरूको सम्मान गर्नु हो।
    शास्त्रहरूले तेत्तीस कोटि देवताको चर्चा गरेका छन्। समाजले शास्त्रीय तथा लोक गरी दुई किसिमका देवदेवीको चर्चा गरेका छन्। लोकदेव तथा लोकदेवीहरू त सम्भवतः यिनै तेत्तीस कोटिमध्ये हुन्। यस्तै होस् वा नहोस् तर देवताहरूले मानव कल्याण गर्ने गरेका वा पहिले नै गरेका हुनाले नै वर्तमानसम्म पूजित छन्। यदि शास्त्रीय देवदेवीको सन्दर्भलाई पनि विचार गर्ने हो भने धेरै पनि देवदेवीहरूले कति धेरै सङ्घर्ष गरेका छन्। लोकहित वा लोककल्याणका लागि त्याग गरेका छन्। शास्त्रीय देवदेवीलाई माने पनि वा लोक देवदेवीलाई माने पनि यहाँ सम्मानको पक्ष र प्रश्न हो। लोकदेवीदेवताले पनि शास्त्रीय देवीदेवताको सम्मान गरेको पाइन्छ। यसबाट यो पनि सिद्ध हुन्छ कि हामीले दुवै दृष्टिकोणबाट विचार गर्नुपर्छ। हाम्रा पितापुर्खाले पनि सम्मान गर्दै आएका छन्। हाम्रा पितापुर्खाले गरेको सम्मानको परम्परालाई हामीले कायम राख्नुपर्दछ। पितापुर्खाले सम्मान गरेको परम्परामाथि श्रद्धा राख्नुपर्छ। देवऋणको सन्दर्भमा यस्ता कुरामा पनि विचार गर्नु आवश्यक छ।
    पितृऋणको सन्दर्भमा कतिपयले शास्त्रहरूमा यो पनि भनिएको पाइन्छ कि पितृऋण तिर्न पिता बन्नुपर्दछ। पिता बन्नु भनेको अर्को मानवलाई संसारमा ल्याउनु हो। हुन सक्छ आउने पुस्तामध्ये नै कोही भविष्यमा साह्रै असल काम गरेर लोकदेव वा लोकदेवी बन्ने बाटोमा हिंडोस्। वास्तवमा भविष्यप्रति आस्थावान् हुनुपर्दछ। भविष्यप्रति आस्थावान् हुन मानिसले पितृऋण तिर्न पिता बन्नु पनि शास्त्रसम्मत छ। वंश परम्परा कायम राख्नु पनि पितृऋण तिर्नु हो। ऋणबाट मुक्ति पाउनु हो। यसको अर्थ यो कदापि होइन कि जति मन लाग्यो त्यति सन्तानोत्पत्ति होओस्।
    ऋषिऋणलाई पनि व्यापक र सङ्कुचित दुवै अर्थमा लिइएको पाइन्छ। सङ्कुचित अर्थमा ऋषि भनेका साधुसन्त हुन्। ऋषि त आचार्य पनि हुन्। यसैले गुरुलाई देवताको श्रेणीभन्दा माथि राखिएको पाइन्छ। भनिन्छ, देउता चिनाउने पनि गुरु नै हुन्। यसैले माता, पिता र गुरुलाई समान श्रेणीमा राखिएको पाइन्छ। तर ऋषिको अर्थ यतिमा मात्र सीमित छैन। ऋषि भनेका उनी पनि हुन्, जसले अनेक जडीबुटीको पहिचान गरी हामीलाई स्वास्थ्यको वरदान दिए। विभिन्न रोगसँग लड्न सक्ने वनस्पतिको हाम्रोलागि पहिचान बनाए। जसले शास्त्रहरूको सिर्जना गरे। जसले अनेक कष्ट सहेर मानव कल्याणका लागि अनेक नयाँ कुराको आविष्कार गरे र मानव जीवनलाई अझ सरल तथा सजिलो बनाउन सहयोग पु–याए। उनीहरूले तप गरे, मानवलाई मानव बनाइरहन अन्यायसित लडे। त्यस्तालाई ऋषिको श्रेणीमा राख्न सकिन्छ। वास्तवमा मानवको हित गर्ने जो कोही पनि हितको कर्मसम्म पूज्य हुन्छ।
    शब्दको भाव र तात्पर्य बुझाइको अभावमा अर्थ सङ्कुचन वा अर्थ विस्तार गरी मनलाग्दो परिभाषा गरेर जे पनि अर्थ लगाउन सकिन्छ। जे पनि अथ्र्याउन सकिन्छ। कुलो र कुरोलाई जता पनि बङ्ग्याउन सकिन्छ। भित्री रहस्य नबुझी अथ्र्याउनु र यस किसिमको प्रवृत्तिले विस्तार पाउनुले समाजलाई नै हानि पु–याउँछ। प्रत्येक मानिसले पितृ, देव र ऋषि ऋण तिर्नुपर्दछ भनेर शास्त्रहरूले भन्नुको तात्पर्य त्यस किसिमको कर्तव्य निर्वाह गर्नुपर्दछ भनिएको हो। आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने मानिसले मनुष्यऋण तिर्न सक्दैन भनेको हो।
प्रत्येक मानिस मनुष्यऋणबाट मुक्त हुनुपर्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्