फेसबूक/फेकबूक

149

– मुकुन्द आचार्य
   फेसबूकलाई सोशल मिडिया अन्तर्गतको एक मुख्य घटक मानिन्छ, आजभोलि। कोरोना भाइरसले वैज्ञानिक महोदयहरूको सातोपुत्लो उडाएको यस घडीमा जहाँबाट भए‘नि जताबाट भए‘नि खबर खाबर पाउन मान्छेको मन मथिङ्गल मडारिएकै हुन्छ। त्यसमा पनि शुभलाभको सुखद समाचार कानमा परोस् भन्ने सबैको आस हुन्छ।
    यो आसलाई सोशल मिडियाले थोरबहुत भरथेग गरेकै हुन्छ, यति त मान्नै पर्छ। तर हामी नेपाली श्रीखण्डको काठले खुर्पाको बींड बनाउँछौं। यही हो नेपालीहरूको विशेष ‘विशेषता’ ! जय होस् !
    त्यसो त राम्रा–नराम्रा पक्ष जुनसुकै कुराको पनि हुन्छ, यसमा दुई मत हुनै सक्दैन। फेसबूकमा पनि यो नियम लागू हुन्छ। फेसबूकले राम्रो–नराम्रो दुवैथरीको परिकार पस्किन्छ। फेसबूकमा राम्रा कुरा त हुँदैनन्, भन्न चैं सकिन्न। धेरै राम्रा कुरा पनि कहिलेकाहीं पढ्न, हेर्न, जान्न र बुझ्न पाइन्छ।
    तर अचेल फेसबूक त फेक (जाली) बूक हुन पुगेको छ। यो भनाइ कुनै एक व्यक्तिको मनको तरङ्ग हैन। धेरै छन् फेसबूकलाई फेकबूक भन्ने। होला पनि। मान्छेको अनुहारभित्र लुकेको शैतानलाई कसरी चिन्ने ?
    भर्खरका एक युवाले आत्महत्या गरेछन्। उनले मर्नुअघि सुसाइड नोट लेखेर औपचारिकरूपमा बहादुरी देखाएका रै‘छन्। आजको युवालाई मान्नै पर्छ।
    सुसाइड नोटमा उनले लेखेका कुराको चुरो चैं के रै‘छ भने यस्तै सोशल मिडियाले लमीको भूमिका निर्वाह गरेको रहेछ। मायाप्रीति गाँसिएछ, युवा–युवतीबीचमा। कालान्तरमा प्रेमी–प्रेमिका त पति–पत्नी बन्न पुगे। लमी र पुरेतको भूमिका फेसबूकले भ्याइदिएछ। कुरो सिद्धिएन त ? किन चाहियो आमा बाऊ ??
    पति–पत्नी भइसकेपछि छोराछोरी भइहाल्दा रै‘छन्। उनीहरूको बिस्तारो तालले यौटा छोरा र अर्की छोरी गरी दुई थान सन्तान आङ्नीमा उफ्रन थाले।
    अनि पछि त कुन्नि के भयो। बूढाबूढीमा त पारपाचुके नै भएछ। त्यसो भए सोशल मिडियाले उनीहरूको जीवन भताभुङ्ग पारेकै हो त ? होइन पनि कसरी भन्ने ? हो भनौं यस्ता दुर्घटना, ठगी प्रशस्तै भैरॉछन्। यस्तो रोक्ने लगाम लाउने वीर जन्म्या छैनन्।
    तपैंलाई एक करोडको जैकपट प–यो। त्यसको फलानो फलानो विधि व्यवहार पूरा गर्न ५० हजार तु. पठाउनुस्। एक करोडको ललिपप देखाएर यसरी पच्चीस हजार, पचास हजार कैयौंपटक बुझाउँछन्। लोभले लाभ, लाभले विलाप १ अनेक निहुँ गरेर पैसो थुतेर पछि घन्टा देखाइदिने। त्यस्ता थुप्रै कथा कुथुङ्ग्री समाजमा टन्नै पेला पर्छन्। अनि फेकबूक कसरी नभन्नु ?!
    यसरी ठग्ने र ठगिने दुवैका लागि फेसबूक र यस्तै अन्य माध्यमहरू राम्रो मञ्च बन्न पुगेका छन्। ठग्नेहरूले अनेक दाउ जान्दा रै‘छन्।
    हुनत बनाउनले मान्छेको सुखसुविधा बढोस् भनेरै सोशल मिडियाका साधन जुटाइदिए। तर हामीले साधनको चरम दुरुपयोग गरेर गणेशजी बनाउने क्रममा ढङ्ग नपुगेर बाँदर बनाइदियौं। माल पाएर मात्र हुँदैन, चाल पनि पाउनुपर्छ। अहिले देश हाँक्नेहरू त्यस्तै चाल नपाउने परेछन् कि क्या हो ?!!

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्