प्रस, वीरगंज, १८ भदौ/
तीन दिनअघि शुरू भएको प्लाज्मा थेरापी उपचार विधिबाट सङ्क्रमितको उपचार भएसँगै सोको सकारात्मक नतीजा आउन थालेको छ। सर्लाहीका एकजना सङ्क्रमितमा सो उपचार विधिबाट सुधार हुन थालेपछि वीरगंजका सङ्क्रमितका लागि प्लाज्मा थेरापी प्रभावकारी हुने भएकोले सो विधि अघि बढाउँदै गइएको छ।
नारायणी अस्पतालका प्लाज्मा स्टडी समूहका चिकित्सक, वीरगंज उद्योग वाणिज्य सङ्घ, रक्तसञ्चार केन्द्र वीरगंजको सक्रियतामा वीरगंजमा पहिलोपटक प्लाज्मा दान भएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी गराए। “हामीले सामाजिक सञ्जालबाट कोरोना सङ्क्रमणबाट मुक्त भएर १४ दिन बिताइसकेका सङ्क्रमितहरूलाई प्लाज्मा दान गर्न आह्वान गरेका थियौं,” उनले भने, “निको भएकामध्ये ५ जनाले आज बिहीवार बिहान प्लाज्मा दान गरेका छन्।”
एक साताअघि वीरगंजमा रक्तसञ्चार केन्द्रकै भवनमा छुट्टै प्लाज्मा बैंक स्थापना गरी प्लाज्मा दानको अभियान चलाइएको थियो। रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेका अनुसार प्लाज्मा दान गर्नेमा वीरगंज वडा नं ४ का अध्यक्ष ५३ वर्षीय जगतप्रसाद साह कानू, सोही वडाका ३२ वर्षीय प्रवेश ढुङ्गेल र ३२ वर्षीय खुशीकान्त चौधरी, वीरगंज–११ श्रीपुर बस्ने ३२ वर्षीय पत्रकार सुरेश बिडारी र नारायणी अस्पतालका चिकित्सक ३४ वर्षीय प्रह्लाद अधिकारी रहेका छन्।
यसअघि प्लाज्मा थेरापीबाट उपचार गरिएको वीरगंजको पहिलो केसमा सकारात्मक नतीजा आएपछि ती सङ्क्रमित कोरोनालाई जितेर घर फर्किने चिकित्सकले विश्वास व्यक्त गरेका छन्।