पुजारी हत्याका फरार अभियुक्त पक्राउ


प्रस, रौतहट, १८ भदौ/
    माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया बजारमा रहेको हनुमान मन्दिरका पुजारी राम साहको हत्याको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
    देवाही गोनाही नपा वडा नं १ करुनिया बस्ने वर्ष ३६ को नरेश भन्ने रामनरेश राउत पटेल तथा सोही स्थान निवासी वर्ष २८ को बालकुमार पटेललाई पक्राउ गरेको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
     केही अन्य व्यक्ति पनि पुजारीको हत्यामा संलग्न रहेको भन्ने अनुसन्धानको सिलसिलामा खुल्न आएको सो कार्यालयले जनाएको छ। पक्राउ परेका दुईजनालाई २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको विशेष प्रहरी टोलीले बौधीमाई नपा वडा नं ७ बडकी बङ्कुल क्षेत्रबाट हिजो बुधवार बिहान पक्राउ गरेको थियो।
    ६५ वर्षीय पुजारी राम साहलाई भदौ ३ गते राति ८ः३० बजे अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहारबाट हत्या गरी फरार रहेको सन्दर्भमा अनुसन्धान गर्दा रामनरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी हत्या गरेको र बालकुमार पटेल घटनानजीक रही मानिसहरूको आवतजावतमाथि निगरानी गरिरहेको भनी निजहरूले अपराध स्वीकार गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
    रामनरेश पटेलका बुबाले पुजारीसँग  ब्याजमा रकम लिएको र सोही रकमको विषयमा विवाद भएको थियो। घटना हुनुभन्दा ३ दिनअघि रामनरेश पटेल र पुजारीबीच विवाद भएको थियो। गाउँमा विभिन्न विषयमा छलफल हुँदा मृतक पुजारीले फरक मत राख्ने क्रममा उनको रामनरेश पटेललगायत अन्यसँग धेरैपटक वादविवाद भएको थियो। यस घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजी भइरहेको छ। पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप भइ अनुसन्धान शुरू भएको जिप्रका रौतहटले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here