प्रस, ठोरी, १७ भदौ/
ठोरी गाउँपालिका–४ का प्रेम श्रेष्ठले अटोको किस्ता तिर्न नसकेको ६ महीना भयो । एक वर्षअघि ऋण गरेर श्रेष्ठले मासिक १० हजार किस्ताबन्दीमा अटो किनेका थिए ।
लकडाउनअघि अटोको कमाइबाट किस्ता तिर्न र घर खर्च चलाउन पुगे पनि उनले लकडाउन शुरू भएपछि चैतयता किस्ता तिर्न सकेका छैनन् । किस्ता तिर्न बैंकले ताकेता गरिरहेको उनको भनाइ छ ।
लकडाउन र निषेधाज्ञाका कारण अटो चलाउन नपाएपछि किस्ता घटाउन नसकेको उनले बताए । श्रेष्ठको जस्तै पीडा यहाँका अन्य अटोचालकले भोग्दै छन् । सोही वडाका रमेश श्रेष्ठले पनि लकडाउन र निषेधाज्ञाका कारण अटो घरमा नै थन्क्याउनुपरेकोले किस्ता तिर्न नसकेको बताउँछन् ।
पर्साको ग्रामीण क्षेत्रको ठोरी गापाका सबैजसो अटो सञ्चालकहरूको पीडा श्रेष्ठद्वयको जस्तै छ । ग्रामीण क्षेत्रमा अटो सञ्चालन गरेर जीविकोपार्जन गरिरहेका सबैजसो अटो व्यवसायी लकडाउन र निषेधाज्ञाको मारमा परेका छन् ।
अटो किन्न न्यूनतम रकम ऋण जोडेर बाँकी रकम किस्ताबन्दीमा भुक्तानी गर्ने गरी खरीद गरेका उनीहरू ६ महीनादेखि सेवा दिन बन्द भएपछि निराश भएका छन् । घर खर्च धान्न धौधौ परिरहेको बेलामा बैंकको ताकेताले झनै पीर बढाएको उनीहरूको भनाइ छ । अटो घरमा थन्क्याएर राख्नुपर्दा दैनिक व्यवहार धान्नै गा¥हो पर्न थालेको अटो व्यवसायी तिलक श्रेष्ठ बताउँछन् । न्यूनतम रकम जम्मा गरेपछि अटो नै धितो राखेर बैंकले किस्ताबन्दीमा रकम तिर्ने सुविधा दिएकोले लकडाउनअघि ठोरी गापामा अटो व्यवसायीहरूको सङ्ख्यामा वृद्धि भएको थियो । ठोरीमा दुई वर्षअघिसम्म फाटफुट देखिने अटो अहिले दर्जनको हाराहारीमा सञ्चालनमा थिए । उनीहरूले बैंकमा मासिक १० हजार देखि १५ हजार रुपैयाँ किस्ता तिर्ने गरी अटो लिएको व्यवसायी प्रेम श्रेष्ठ बताउँछन् । बैंकको किस्ता, सवारी राजस्व र घर खर्चको लागि रकम अभाव भएकोले अटो नै बेच्नुपर्ने अवस्था आउन थालेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here