प्रस, रौतहट, १७ भदौ/
निरञ्जन राम र विजय राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहटले १० सूत्रीय माग सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालयअगाडि धर्नास्थलमा बुधवार पत्रकार सम्मेलन आयोजना गरी समितिले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो । निरञ्जन राम र विजय रामलाई शहीद घोषणा गर्नुपर्ने, प्रहरीद्वारा हत्या गरिएको भनिएको विजय रामको मुुद्दा दर्ता गरी दोषी प्रहरीलाई कारबाई गर्नुपर्ने, प्रहरी हिरासतमा रहेका निर्दोष चारजना सिकेन्द्र पासवान, अजय राम, विवेकराय यादव, अर्जुुन रामलाई तुुरुन्त रिहा गर्नुपर्ने र मृतक निरञ्जन रामका अभियुक्त लखन साह र राजगीर साहलाई अविलम्ब पक्राउ गर्नुपर्ने साथै हत्याकाण्डको छानबीन गर्न दलित आयोग गठन गर्नुपर्ने मागपत्रमा उल्लेख छ ।
निरञ्जन राम र विजय राम हत्याकाण्ड जिल्ला सङ्घर्ष समिति रौतहटका अध्यक्ष सोनालाल रामद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री र प्रदेशका मुख्यमन्त्रीलाई वास्तविक अवस्था बुझ्न गरुडा आउन आग्रह गरिएको छ । माग सम्बोधन नभए भदौ १७ देखि २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ ।