बारामा मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो, बुधवारदेखि सरकारी कार्यालय सञ्चालन हुने

प्रस, वीरगंज, १६ भदौ/
    बारा जिल्लामा मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो गरिएको छ। जिल्ला सुरक्षा समिति, विपत् व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो।
    निर्णय अनुसार मङ्गलवारदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म खाद्यान्न, किराना, ग्यास, इन्धन, डेयरीलगायतका व्यवसाय सञ्चालन गर्न पाइनेछ। ती व्यवसाय गर्दा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्नुपर्नेछ। यसअघि यी व्यवसायहरू बिहान ६ देखि १० बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको थियो।
    यसैगरी, सरकारी तथा सार्वजनिक सेवाका कार्यालयहरू कार्यालय प्रमुखसहित पचास प्रतिशत जनशक्तिमा आवासीय कर्मचारीमार्फत् कार्यालयको काम सम्पादन गर्न निर्देशन गरिएको छ। त्यसैगरी, प्रत्यक्ष जनसम्पर्क हुने कार्यालयले भने स्थानीय तह अनुसार आलोपालो सेवा प्रवाह गर्ने गरी बुधवारदेखि व्यवस्थापन गर्न निर्णय गरिएको छ। बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्ने गरी बैंक, वित्तीय संस्था, उद्योग, व्यवसाय, प्रतिष्ठानका साथै निर्माण कार्य गर्न निर्णय गरेको प्रजिअ रुद्रप्रसाद पण्डितले बताए।  

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्