प्रस, वीरगंज, १६ भदौ/
वीरगंजमा सोमवार राति र मङ्गलवार बिहान गरी थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ।
वीरगंज महानगर–२० हरपतगंजका ५३ वर्षीय, सडकपेटीमा भेटिएका एकजना ६० वर्षीय र बारा, कोल्हवीका ६० वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकृत डा अतुलेश चौरसियाले बताए।
नारायणी अस्पतालको आकस्मिक कक्षमा तीन दिनदेखि उपचाररत सडकपेटीमा भेटिएका वृद्धको सोमवार राति पौने ९ बजे मृत्यु भएको र उनको जिन एक्सपर्ट परीक्षणबाट सङ्क्रमण पुष्टि भएको डा चौरसियाले बताए।
वीरगंज–२० हरपतगंजका ५३ वर्षीय पुरुषको कोभिड विशेष अस्पताल वीरगंज हेल्थकेयरमा मृत्यु भएको हो। मङ्गलवार बिहान पौने १ बजे आइसियूमा निजको निधन भएको थियो।
बाराका ६० वर्षीय वृद्धको पनि मङ्गलवार बिहान पौने ५ बजे कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएको हो। मधुमेह र मिर्गौलापीडित हरपतगंजका सङ्क्रमित कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनपछि मृत्यु भएको हो।
भदौ १३ गते बारा कोल्हवीको सङ्क्रमितमा कोरोना पुष्टि भई गण्डक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। दुवैको उपचारको क्रममा मृत्यु भएको हो।