प्रस, सिराहा, १६ भदौ/
सिराहाको मिर्चैया नगरपालिका वडा नं ६ का ५५ वर्षीय पुरुषको मङ्गलवार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ।
उनको भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसियूमा राखेर उपचार भइरहेको थियो।
उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित पुरुषलाई शुरूमा विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो। समस्या झन् बढ्दै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु–याइएको थियो। योसँगै सिराहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।
भदौ २७ गतेसम्म निषेधाज्ञा थपियो
सिराहामा लगाइएको निषेधाज्ञा भदौ २७ गतेसम्मका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले भदौ १ गते राति १२ बजेदेखि लागू गरेको निषेधाज्ञा सोमवार राति १२ बजेबाट सकिएको हुँदा निषेधाज्ञा १२ दिन थप गरेर भदौ २७ गतेसम्म पु–याएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रदीपराज कँडेलले जानकारी गराए।
निषेधाज्ञामा यसअघि जस्तै बिहान ५ देखि ९ बजेसम्म खाद्यान्न किनमेलको लागि समय तोकिएको छ। निषेधाज्ञा अवधिभर सार्वजनिक तथा धार्मिक एवं सांस्कृतिक भेला गर्न, मेला लगाउन, भोज वा जमघट गर्न पूर्णरूपमा बन्देज गरिएको प्रजिअ कँडेलले बताएका छन्।