आस्थालिन औषधिको अभाव, स्वास्थ्यकर्मीले समेत पाएनन्

150

राधेश्याम पटेल, वीरगंज, १६ भदौ/
    स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर सोमवार बिहानैदेखि तनावमा छन्। निजकी ३६ वर्षीया पत्नी पनि स्वास्थ्यकर्मी हुन्। ठाकुर दम्पतीसँगै १४ वर्षे छोरामा पनि कोरोना सङ्क्रमण देखिएको छ। पत्नीलाई श्वासप्रश्वासमा समस्या आएपछि नेबुलाइजरले बाफ लिने उपचार सेवा पत्नीलाई दिलाउने सोच ठाकुरले बनाए। नारायणी अस्पतालकै क्वाटरमा बसेको ठाकुरको परिवारलाई नेबुलाइजर मेशिन एकजना स्वास्थ्यकर्मीले पु–याए तर त्यसमा प्रयोग हुने ‘अस्थालिन रेस्पिरेटर सोलुशन’ जति धाउँदा पनि वीरगंजको कुनै औषधि पसलमा पाएनन्।
    त्यसपछि थाहा भयो, वीरगंजमा यो औषधिको अहिले अभाव छ। विगत डेढ महीनादेखि वीरगंजमा यो औषधिको अभाव भएको चिकित्सकहरूले बताएका छन्।
    नारायणी अस्पतलाका डा अरुणकुमार सिंहले यो दमरोगी तथा सिओपिडी बिरामीका लागि राहत दिने औषधि भएकोले अहिलेको अवस्थामा सहज आपूर्ति भएन भने कोरोना सङ्क्रमित तथा अन्य दमरोगीको लागि अप्ठेरो अवस्था सृजना हुने बताए।
    “श्वासप्रश्वासमा समस्या देखिएका बिरामीले १० मिनेट नेबुलाइजरबाट बाफ लिएपछि श्वासप्रश्वासमा राहत मिल्छ,” उनले भने, “धेरै महँगो पनि छैन, यसमा सरकार तथा औषधि व्यवसायीहरू गम्भीर बन्नुपर्छ।” उनले पछिल्लो एक महीनादेखि वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्यामा आएको वृद्धि र अन्य रोगीको लागि पनि यो औषधि चाहिने भएकोले वीरगंज तथा अन्य शहरमा अभाव भएको हुन सक्ने बताए। उनले वीरगंजको कोभिड अस्पतालमा पनि यो औषधि आवश्कता अनुसार दिंदा केही सङ्क्रमितलाई राहत मिल्ने विश्वास व्यक्त गरे। अहिले सङ्क्रमितहरूलाई औषधि अभावमैं स्टाफ नर्सहरूले बाफ दिन छाडेका छन्।
    कोरोना सङ्कटले गर्दा नेपाल–भारतमा यातायात तथा आयात–निर्यातमा पनि समस्या भइरहेकोले अति आवश्यक औषधि आयातमा समस्या भइरहेको औषधि व्यवसायीहरूले बताएका छन्।         नेपाल औषधि व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले  नेपाल र भारतका विभिन्न सरकारी कार्यालयको जालझेल तथा विविध
कारणले औषधि आयात पहिलेभन्दा असहज बन्दै गएको आरोप लगाए। उनले नेपाल सरकारले आवश्यक औषधि आपूर्तिमा विशेष ध्यान नदिए कोभिड र ननकोभिड सबै प्रकारका बिरामीको लागि कठिन अवस्था सृजना हुन सक्ने बताए।
    अस्थालिन १५ एमएल मात्राको सिरप नेपालमा सिपला कम्पनीले निर्यात गर्दै आएको छ। सिपलाका नेपाल प्रमुख नृपराज जोशीका अनुसार पछिल्लो समय भारतकै उद्योगमा उत्पादन प्रभावित भएकोले नेपालमा आयात हुन नसकेको बताए। “भारतको उद्योगमा मजदूरहरूमा कोरोना निस्किंदा पाँच दिन उद्योग बन्द गर्नुपरेको थियो, यसै पनि भारतमा उत्पादन थोरै र माग बढी छ, त्यसमा पनि पहिलेजस्तो आवागमन तथा यातायात सहज नहुँदा अभाव हुने नै भयो,” उनले भने, “पहिले मासिक ५० हजार थान खपत हुने गरेकोमा नेपालमा अहिले ३० हजार थान औषधि स्टक छ।” उनले नेपालमा औषधि स्टक रहे पनि विभिन्न जिल्लामा लागू निषेधाज्ञाका कारण ढुवानीमा निष्क्रियता आएको बताए। जसले गर्दा औषधिको सहज आपूर्ति गर्न कठिनाइ भइरहेको उनले बताए।
    नेपालमा अस्थालिन रेस्पिरेटर सोलुशन १५ एमएलको रु ३० पर्छ। वीरगंज र जनकपुर क्षेत्रमा मात्रै यो औषधि विगतमा करीब १० हजार थान खपत भएको सिपलाका वीरगंजस्थित बजार प्रतिनिधि सन्दीप गुप्ताले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्