चेतनाको प्रकाश

0
269

    चेतनाको प्रकाश जतातर्फ जान्छ, त्यता आलोक हुन्छ र जतातिर जाँदैन, त्यता अन्धकार रहन्छ। चेतनाको प्रकाशमा दुई विशेषता छ– एक, त्यसले पदार्थको ज्ञात गराउँछ भने दोस्रो, त्यसलाई प्रिय बनाउँछ। त्यसबाट जतातिर हाम्रFे चेतना जान्छ अर्थात् जुन वस्तुतर्फ हामीले ध्यान दिन्छौं, त्यो न केवल हामीलाई सबै प्रकारले ज्ञात हुन्छ, वरन् त्यो प्रिय पनि हुन्छ। जुन कुराको बारेमा हामीले सबै कुरा जान्दैनौं, त्यो हामीलाई प्रिय पनि लाग्दैन। मनुष्यलाई जुन वस्तु प्यारो लाग्छ, त्यसले उसको वृद्धि गर्ने चेष्टा गर्छ। यस प्रकार चेतनाबाट प्रकाशित वस्तुको वृद्धि हुन थाल्छ। मनुष्यको सांसारिक धन–वैभवको वृद्धि यस प्रकारले हुन्छ। शरीरको उन्नति पनि शरीरको विषयमा सोच्नाले हुन्छ।
    जब मनुष्य बहिर्मुखी रहन्छ, उसले सांसारिक उन्नति गर्छ। उसको धन, यश र मान–प्रतिष्ठा बढ्छ, तर उसको स्वत्व अन्धकारमा रहन्छ। अन्धकारमा भएको कारण न त मनुष्यलाई आफ्नैबारे ज्ञान हुन्छ, न उसलाई आफू नै प्रिय लाग्छ। यति मात्र होइन, बहिर्मुखी व्यक्तिलाई यदि एक्लै छोड्यो भने त्यो आफैंमा यति विफल हुन्छ कि उसलाई आत्महत्या गर्ने इच्छा हुन थाल्छ। यदि कुनै कारणले बहिर्मुखी व्यक्तिलाई कहिल्यै एक्लै बस्नुप–यो भने ऊ निराश हुन्छ। उसको विचार उसको नियन्त्रणमा रहँदैन। उसको मानसिक ग्रन्थिले उसलाई भारी त्रास दिन थाल्छ। जबसम्म उसले  कुनै प्रकारको व्यवसाय पाउँदैन, तबसम्म उसलाई जीवन भाररूप हुन्छ।
    चेतनाको प्रकाश बाहिर जानाले मनुष्यको मनमा अनेकौं प्रकारका संस्कार पर्छ। यो सबै संस्कार मानसिक क्लेशको कारण बन्छ। यसबाट आत्माको प्रियता कम हुन्छ र बाहिरी पदार्थतर्फ आकर्षण बढ्छ। यस प्रकार मनुष्यको चेतनाको पछाडि सांसारिक इच्छाको रूपमा एक अचेतन मनको सृष्टि हुन्छ। जो व्यक्ति जति बहिर्मुखी हुन्छ, उसको सांसारिक पदार्थको इच्छा त्यत्तिकै प्रबल हुन्छ। यी ग्रन्थिका कारण मनुष्यको आन्तरिक स्वत्व दुःखी हुन्छ। उसले फेरि चेतनाको प्रकाशलाई आफूनजिक बोलाउने उपाय रच्छ। रोगको उत्पत्ति आफैं चेतनाको प्रकाशलाई बोलाउने उपाय हो।
    मनुष्यको वैयक्तिक अचेतन मन उसको मानसिक ग्रन्थि र दमित इच्छाहरूको कारण बनिरहन्छ। दबिएको इच्छाको चेतना प्रकाशित भएपछि रेचन हुन्छ र धेरैजसो मानसिक ग्रन्थि यस प्रकार खोलिन्छ, तर त्यसबाट मानसिक ग्रन्थि बन्न रोकिंदैन। नयाँ मानसिक ग्रन्थि बनिरहन्छ। यस प्रकार अचेतन मनको नयाँ भार तयार हुन्छ। मनोविश्लेषण–चिकित्साबाट मनुष्यको व्याधिविशेषको उपचार हुन्छ तर त्यसबाट मूलरोग नष्ट हुँदैन। त्यो नयाँनयाँ रूपमा प्रकाशित भइरहन्छ। जबसम्म अचेतन मनमा चेतनाको प्रकाश पर्दैन, तबसम्म त्यो मानसिक प्रकाशलाई बाहिरतर्फ जान रोकेर त्यसलाई भित्रतर्फ लैजान्छ।
    जब मनुष्य अन्तर्मुखी हुन्छ, तब बाह्य पदार्थको प्रियता हराउँछ। यसको कारण त्यो मनुष्यले मनमा आफ्नो दृढ संस्कार छोड्दैन। यस प्रकार नयाँ कर्मविपाक बन्न बन्द हुन्छ। सदा आध्यात्मिक चिन्तन गर्नाले मनुष्यको पुरानो मानसिक ग्रन्थि खुल्छ। अब उसले आफ्नो सुखको लागि यताउता भौतारिनुपर्दैन। उसले आफ्नो विचारमा नै असीम आनन्द पाउन थाल्छ। अब अनेक प्रकारका सांसारिक चिन्ता र कुनै प्रकारका मानसिक अशान्ति उत्पन्न गर्दैन। मनुष्य निजानन्दमा निमग्न रहन्छ। यस्ता व्यक्ति सदा साम्यावस्थामा रहन्छ।
    चेतनाको प्रकाश बिस्तारैबिस्तारै भित्रतर्फ मोडिन्छ। यसको लागि अभ्यास र विचारको आवश्यकता छ। जब मनुष्यलाई बाह्य विषयबाट विरक्ति हुन थाल्छ अर्थात् जब उसलाई दुःखरूप प्रतीत हुन थाल्छ, तब उसले सुखलाई आफूभित्र खोज्ने चेष्टा गर्छ। मन हतास भएको अवस्थामा मनुष्यको विचार स्थिर रहँदैन, उसलाई सबै प्रकारका प्रयत्नबाट पनि असन्तोष हुन्छ। उसले सबै प्रकारका प्रयत्नलाई सन्देहको दृष्टिले हेर्न थाल्छ। अतएव एकाएक मनलाई अन्तर्मुखी बनाउन सकिंदैन, तर बिस्तारैबिस्तारै अभ्यासद्वारा अन्तर्मुखी बनाउन सकिन्छ।
    जब मनुष्य अन्तर्मुखी हुन्छ, तब उसलाई ज्ञात हुन्छ कि मनुष्यको मानसिक संसार उसको बाह्य संसारभन्दा फैलावमा कम हुँदैन। जति बाह्य संसारको विस्तार हुन्छ, त्यसभन्दा धेरै बढी आन्तरिक संसारको छ। अर्थात् मनुष्यले आत्मस्थिति प्राप्त गर्नको लागि त्यत्तिकै बढी अध्ययन, विचार र अन्वेषण गर्नुपर्छ, जति कुनै भौतिक विज्ञानमा रुचि राख्नेले अन्वेषण   गर्छ। जसरी पदार्थ विज्ञानको भारी विस्तार छ, त्यसै प्रकार अध्यात्म विद्याको पनि ठूलो विस्तार छ।
    संसारका सबै वस्तु आत्मसन्तोषको लागि हो। यदि मनुष्यले आत्मसन्तोषको सरल मार्ग थाहा पाउँछ भने ऊ सांसारिक पदार्थको पछाडि किन दौडिन्छ ? तर यो आत्मसन्तोष प्राप्त गर्ने सरल काम होइन। जति कठिनाइ कुनै इच्छित बाह्य पदार्थ प्राप्त गर्नुमा हुन्छ, त्यसभन्दा बढी कठिनाइ आत्मज्ञान प्राप्त गर्नमा हुन्छ। आत्मज्ञान मनको साधनबाट उत्पन्न हुन्छ। जबसम्म मन निरवलम्ब हुँदैन, पुरुषार्थीलाई स्वरूपको ज्ञान हुन सक्दैन। तर मनको सहज स्वभाव आत्माबाट इतर वस्तुमा अवलम्बित भई छाड्छ। उसले आफ्नो यस बानीलाई मुक्त गर्नमा जति प्रयास गर्नुपर्छ, त्यो कल्पनातीत हो।
    जब मनुष्य चेतनाको प्रयासलाई आफूतर्फ फर्काउनमा समर्थ हुन्छ, तब उसलाई सबैभन्दा बढी प्रिय वस्तु आफसेआफ हुन्छ। तर उसले कुनै पनि सांसारिक वस्तुमा आफ्नो मन फसाउँदैन। उसको मन स्वभावतः आत्मातर्फ नै जान थाल्छ। यस्तो स्थितिमा पुराना सबै मानसिक ग्रन्थि नष्ट हुन्छ र नयाँ मानसिक ग्रन्थि बन्न थाल्छ। त्यसपछि मनुष्यको जीवन प्रकाशमय हुन्छ, यस्ता व्यक्तिको विचार आत्मनियन्त्रणमा रहन्छ। उसको मनमा कुनै प्रकारको आत्मग्लानिको भावना रहँदैन। ऊ सदा स्वस्थचित्त रहन्छ। यस प्रकारको स्वास्थ्यलाई प्राप्त गर्नको लागि मनुष्यले जब कहिले अवसर पाउँछ, आध्यात्मिक चिन्तनमा समय लगाउनुपर्छ र त्यसलाई आफ्नो बानी बनाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here