कठिन मोडमा वीरगंज सेवा बन्द गर्ने चिकित्सकको चेतावनी

0
214

राधेश्याम पटेल, वीरगंज, २६ साउन/
वीरगंज कठिन मोडमा पुगेको छ । नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सामूहिकरूपमा सेवा बन्द गर्ने चेतावनी दिंदै २४ घण्टे अल्टिमेटम दिएका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायसमक्ष सामूहिक निवेदन दिंदै उक्त माग स्थानीय प्रशासनसमक्ष राख्न आग्रह गरेका छन् । नेपाल चिकित्सक सङ्घ नारायणी वीरगंज शाखा तथा नारायणी अस्पतालमा कार्यरत करीब २५० जना कर्मचारीले अहिलेको अवस्थामा काम गर्ने अवस्था नरहेकोले सोमवार दिउँसो १ बजेसम्म आवश्यक दक्ष जनशक्ति तथा स्रोत साधनको व्यवस्थापन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
सङ्घका महासचिव एवं नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले विगत केही महीनादेखि पटकपटक पर्सामा बढिरहेको महामारीलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी तथा जनशक्ति, स्रोतसाधनबारे स्थानीय प्रशासनसँग माग गर्दै आएकोमा जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज महानगरपालिका, प्रदेश २ सरकार र केन्द्र सरकारले कुनै चासो नदिएकाले अन्तिम समयमा आत्मसमर्पण गर्दै सेवा बन्द गर्ने स्थितिमा पुग्न बाध्य भएको बताए । “पर्साको अहिलेको सुरक्षा व्यवस्था तथा कोरोना महामारीसँग लड्ने तयारी निकै खतरापूर्ण रहेकोले अब उपरान्त मानसिक यातना तथा ज्यान जोखिममा राखेर काम गर्न सक्दैनौं,” उनले भने, “सोमवार दिउँसो १ बजेसम्म आवश्यक तयारीको लागि २४ घण्टे अल्टिमेटम दिएका छौं ।”
नारायणी अस्पतालमा आइतवार बिहान भएको तोडफोडको घटनाले अस्पतालमा भौतिक क्षति भएको छ । वीरगंज–२ छपकैयाकी २० वर्षीया महिलाको मृत्युको विषयलाई लिएर आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गर्दा चिकित्सक, स्वास्थ्यकर्मीहरूले असुरक्षा महसूस गरिरहेका छन् । यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले समस्या समाधानको लागि पहल गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here